गान्तोक: ४२औँ अखिल भारतीय राज्यपाल स्वर्ण कप फुटबल प्रतियोगिताको बिहीबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा ब्ल्याक ईगलले बनारस एफसी (बागपत) लाई ५–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
पाल्जोर स्टेडियममा भएको खेलमा ब्ल्याक ईगलले सुरुदेखि नै बनारस एफसीमाथि दबाब कायम राखेको थियो। मदन मन्डीले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। राहुल पासवानले २५औँ मिनेटमा अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा पनि ब्ल्याक ईगलले आक्रामक खेललाई निरन्तरता दियो। प्रनिल गुरुङले ५५औँ मिनेटमा तेस्रो गोल गरे। त्यसको छ मिनेटपछि भिकी छेत्रीले चौथो गोल थपे भने सुराग छेत्रीले ६७औँ मिनेटमा पाँचौँ गोल गर्दै टोलीको ५–० को जित निश्चित गरे।
यसअघि जीटीए एकादशलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको ब्ल्याक ईगलले अब क्वार्टरफाइनलमा शिलङ लाजोङ एफसीको सामना गर्नेछ।
बनारस एफसीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका दर्शक भने खेलमा टोलीको कमजोर प्रदर्शनपछि निराश बनेका थिए।
खेलका अवसरमा स्वास्थ्य तथा परिवार कल्याण विभागका अध्यक्ष फुर्बा शेर्पा मुख्य अतिथि तथा मेफेयरकी प्रबन्ध निर्देशक बिनिता शंकर र स्टार मलका निर्देशक रुपेश चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। प्रशासनिक सुधार आयोगका अध्यक्ष एसडी ढकाल विशेष अतिथि थिए।
प्रतियोगिताको पहिलो क्वार्टरफाइनल शुक्रबार हुनेछ। दिउँसो २ बजे हुने खेलमा सुदेवा दिल्ली र गोकुलम केरलाबीच प्रतिस्पर्धा हुनेछ। गोकुलम केरलाले यसअघि थन्डरबोल्ट नर्थ युनाइटेडलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।





