राजनीतिक दलहरूसँग छलफल
सोरेङ: मतदाता नामावली पुनरीक्षण प्रक्रियामा पारदर्शिता, शुद्धता र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ सोरेङका जिल्ला निर्वाचन अधिकारी एवम् जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा एक समीक्षा बैठक सम्पन्न भएको छ। सोरेङस्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित उक्त बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूसँग विशेष गहन पुनरीक्षणको अन्तिम प्रतिवेदनबारे विस्तृत छलफल गरियो।
बैठकलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले जारी पुनरीक्षण अभियानको समग्र अवस्था प्रस्तुत गर्दै त्रुटिरहित मतदाता नामावली तयार पार्न निर्वाचन संयन्त्रले अपनाएका उपायहरूबारे जानकारी गराए। उनले एसआईआर पूर्वको मस्यौदा मतदाता नामावली र क्षेत्रगत सत्यापनका लागि बुथ लेभल अफिसरहरूलाई गणना फारम वितरण गरिएको विषयमा जानकारी दिए।
बैठकमा म्यापिङ नभएका मतदाता, सत्यापनका क्रममा भेटिएका त्रुटि, अयोग्य मतदाताको वर्गीकरण तथा दाबी र आपत्ति दर्ता गर्ने प्रक्रियाबारे समीक्षा गरियो। साथै, विधानसभा निर्वाचन क्षेत्र अनुसार अन्तिम मतदाता नामावलीको स्थिति, जिल्लाको मतदाता लिङ्ग अनुपात, नयाँ मतदाता दर्ता, ज्येष्ठ नागरिक मतदाताको सङ्ख्या र अनलाइन तथा अफलाइन माध्यमबाट प्राप्त पुनरावेदनहरूको फछ्र्यौटबारे प्रतिनिधिहरूलाई जानकारी गराइयो।
प्रस्तुतीकरणका क्रममा जिल्लापाल धीरज सुवेदीले सोरेङ जिल्लामा ४,९८७ जना मतदातालाई एएसडीडी (अनुपस्थित, स्थानान्तरित, मृतक र दोहोरिएका) वर्ग अन्तर्गत पहिचान गरिएको बताए। उनले वास्तविक मतदाताको अधिकार सुरक्षित गर्दै योग्य मतदातालाई मात्र नामावलीमा राख्नका लागि यी प्रविष्टिहरूको सूक्ष्म अनुगमन भइरहेको स्पष्ट पारे।
बैठकको अन्त्यमा अन्तरक्रियात्मक सत्र आयोजना गरिएको थियो, जहाँ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले एसआईआर प्रक्रियाका विविध पक्षबारे प्रश्न सोध्नुका साथै स्पष्टीकरण मागेका थिए। निर्वाचन अधिकारीहरूले उठाइएका जिज्ञासाको समाधान गर्दै सबै सरोकारवालाहरूको सक्रिय सहभागितामा स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा पुनरीक्षण कार्य सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको दोहोर्याए।
उक्त बैठकमा भारतीय जनता पार्टी, सिक्किम क्रान्तिकारी मोर्चा र सिटीजन एक्सन पार्टी सिक्किमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसका साथै डारामदिन विधानसभा क्षेत्रका ईआरओ सह एसडीएम (मुख्यालय) प्रेम के सुब्बा, सोरेङ-चाकुङका ईआरओ सह एसडीएम साकचुम लेप्चा, रिन्चेनपोङका ईआरओ सह एसडीएम डीएन शर्मा, निर्वाचन कक्षका सहायक निर्देशक मणी कुमार गुरुङ, अवर सचिव जेनिफर थापा, ओएस अम्बिका राई तथा निर्वाचन कक्षका अन्य अधिकारी एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।





