मुम्बई: महाराष्ट्रमा अटो, ट्याक्सी तथा क्याब चालकका लागि आधारभूत मराठी भाषा जान्नुपर्ने विषयमा विवाद भइरहेका बेला अभिनेता सञ्जय दत्तको एउटा टिप्पणी चर्चामा आएको छ।
आइतबार ठाणेमा शिवसेना (शिन्दे समूह) का नेता तथा महाराष्ट्रका यातायातमन्त्री प्रताप सरनाईकले आयोजना गरेको दही हाँडी कार्यक्रममा सहभागी दत्तले मञ्चबाट हिन्दीमा सम्बोधन गर्न थालेपछि मन्त्री सरनाईकले उनलाई मराठीमा बोल्न आग्रह गरेका थिए। तर दत्तले हाँस्दै मराठीमा बोल्न अस्वीकार गरे।
उनले मजाकिया शैलीमा भने, “म ६ वर्ष येरवडा जेलमा बसेँ, त्यतिबेला पनि मराठी सिक्न सकिनँ।” उनको यो प्रतिक्रियापछि मञ्चमा हाँसोको माहोल बनेको थियो।
कार्यक्रममा मन्त्री सरनाईकले पछिल्लो समय आफूले सबैलाई मराठी सिकाइरहेको उल्लेख गर्दै दत्तसँग पनि मराठीमा संवाद गराउने इच्छा व्यक्त गरेका थिए। उनले दत्त हिन्दीमा बोल्ने भए पनि कार्यक्रममा उपस्थित सबैले हिन्दी बुझ्ने बताएका थिए।
महाराष्ट्र सरकारले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत चालकका लागि कामचलाउ मराठी अनिवार्य गर्ने विषय अघि सारेपछि भाषासम्बन्धी विवाद चर्किएको छ। दत्तको टिप्पणी भने यही बहसबीच आएको हो। उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेसँगै राजनीतिक तथा सामाजिक बहससमेत तीव्र भएको छ।





