सोरेंगमा जिल्ला स्तरीय ‘सिक्किम राइज’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न

FB_IMG_1784291166627

६ विजेता राज्य स्तरीय प्रतिस्पर्धाका लागि चयन

सोरेंग: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागद्वारा आयोजित सोरेंग जिल्ला स्तरीय ‘सिक्किम राइज’ (रियलाइजिंग आयडियास सेपिग एनटरयुनरसिप) प्रतियोगिता तीन दिने कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाभरिका महत्वाकांक्षी उद्यमीहरूको पहिचान, प्रवर्द्धन र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
​माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको “एक परिवार, एक उद्यमी” को सोच र परिकल्पनालाई साकार रूप दिन ‘सिक्किम इन्स्पायर्स’ कार्यक्रम अन्तर्गत वाणिज्य तथा उद्योग विभागले यसको ज्ञान साझेदार (नॉलेज पार्टनर) ‘सिड सेल’ सँगको सहकार्यमा यो प्रतियोगिता आयोजना गरेको हो। सिक्किम राइज नवप्रवर्तनकारी विचारहरूको खोजी गर्ने, उदीयमान उद्यमहरूलाई सहयोग गर्ने र मेन्टरसिपमार्फत उद्यमीहरूलाई सशक्त बनाउने राज्य सरकारको एक प्रमुख पहल हो।

​विविध क्षेत्रबाट उत्साहजनक सहभागिता
सोरेंग जिल्ला स्तरीय यस प्रतिस्पर्धामा कृषि, खाद्य प्रशोधन, पर्यटन, आतिथ्य (हस्पिटालिटी), हस्तकला, उत्पादनमूलक उद्योग, सेवा क्षेत्र र प्रविधि जस्ता विभिन्न विधाबाट ५५ वटा आवेदन प्राप्त भएका थिए। सहभागीहरूले आफ्नो व्यवसायको प्रकृति अनुसार आइडिया स्टेज, प्रोटोटाइप स्टेज र रेभिन्यु मोडल स्टेज विधामा आफ्ना व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए।
​प्रारम्भिक मूल्याङ्कन पश्चात् १५ जना आशालाग्दो उद्यमीहरूलाई मेन्टरिङ र फाइनल पिचिङ चरणका लागि छनोट गरिएको थियो। दोस्रो दिन सिड सेलका विज्ञहरूद्वारा उनीहरूलाई बिजनेस मोडल विकास, वित्तीय योजना, ब्रान्डिङ र पिचिङ प्राविधिक विषयमा सघन प्रशिक्षण दिइएको थियो।
​इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आईआईएम) का विज्ञहरूद्वारा मूल्याङ्कन
अन्तिम दिन, छनोटमा परेका सहभागीहरूले भारतकै अग्रणी स्टार्टअप इन्क्युबेसन संस्था ‘आईआईएम कलकत्ता इनोभेसन पार्क’ (आईआईएमसीआईपी) का प्रतिष्ठित विज्ञहरू सम्मिलित निर्णायक मण्डल सामु आफ्नो व्यावसायिक अवधारणा र वृद्धि रणनीतिको प्रस्तुतीकरण गरेका थिए।
​कडा प्रतिस्पर्धा र मूल्याङ्कन पछि, तीनवटै विधा (आइडिया, प्रोटोटाइप र रेभिन्यु स्टेज) बाट २-२ जना गरी जम्मा ६ जना विजेताहरू चयन भएका छन्। यी ६ विजेताहरूले अब गान्तोकमा आयोजना हुने राज्य स्तरीय ‘सिक्किम राइज’ प्रतियोगितामा सोरेंग जिल्लाको प्रतिनिधित्व गर्नेछन्।
​बाँकी सहभागीहरूलाई पनि सहयोग निरन्तर रहने
राज्य स्तरमा चयन हुन नसकेका अन्य सहभागीहरूलाई पनि निराश हुन नदिने विभागले जनाएको छ। उनीहरू सिक्किम राइज इकोसिस्टमकै हिस्सा रहिरहनेछन् र उनीहरूलाई आगामी दिनमा पनि ‘सिक्किम इन्स्पायर्स’ अन्तर्गत मेन्टरसिप, क्षमता अभिवृद्धि कार्यक्रम र सान्दर्भिक सरकारी योजनाहरूसँग जोडिने सुनिश्चित गरिएको छ।

वाणिज्य तथा उद्योग विभागले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सहयोग पुर्‍याउने सिड सेल, आईआईएम कलकत्ता इनोभेसन पार्कका निर्णायकहरू, जिल्ला प्रशासन तथा सम्पूर्ण सरोकारवालाहरू प्रति आभार व्यक्त गर्दै राज्यभरि नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माण गर्न विभाग सधैं प्रतिबद्ध रहेको कुरा दोहोर्‍याएको छ।

About Author

Advertisement