‘अल सिक्किम सारथी आइडल – सिजन २’ को ग्राण्ड फिनालेका लागि निमन्त्रणा
गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग सेन्ट्रल जोइन्ट एक्सन कमिटी– अल लोकल ट्याक्सी, गान्तोकका सदस्यहरूले मिन्तोकगाङमा शिष्टाचार भेटवार्ता गरेका छन्। कमिटीका अध्यक्ष श्री कर्मा छिरिङ तामाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो।
भेटका क्रममा कमिटीका प्रतिनिधिहरूले मुख्यमन्त्री तामाङलाई आगामी जुलाई २३ तारिखका दिन आयोजना हुन गइरहेको ‘अल सिक्किम सारथी आइडल – सिजन २’ को भव्य समापन (ग्राण्ड फिनाले) समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनका लागि हार्दिक निमन्त्रणा पत्र हस्तान्तरण गरे।
मुख्यमन्त्री तामाङले निमन्त्रणाका लागि कमिटीलाई धन्यवाद दिँदै उक्त कार्यक्रमको भव्य सफलताको कामना गर्नुभएको छ। यसका साथै, यस किसिमको अद्वितीय प्रयास र कार्यक्रममार्फत प्रतिभालाई प्रवर्द्धन गर्न र समाजमा एकताको भावना बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्रीले सबै सहभागी तथा आयोजक टोलीको उच्च प्रशंसा समेत गर्नुभएको छ।










