सोनादा: यसपालीको आईएससी परीक्षामा सोनादा निवासी रिङ्देन लेप्चाले खरसाङको गोथल्स मेमोरियल स्कूलबाट ९७.२५ प्रतिशत अंक ल्याएर खरसाङ साथै स्कूल टप्पर बनेका छन्। रिङदेन लेप्चा सोनादा निवासी पिता उर्गेन लेप्चा र माता रोशनी तामाङको सुपुत्र हुन्। रिङ्देन लेप्चाले उच्च अंकको साथमा आईएससी परीक्षा उत्तीर्ण गरेर गाउँ घर र स्कूलको नाम उच्च राखेका छन्। छोराको येस सफलतामा माता रोशनी तामाङले बताए अनुसार रिङ्देन लेप्चाले आफ्नो प्राथमिक शिक्षा सोनादाको होली क्रस स्कूलबाट लिएका थिए भने पाँचौ श्रेणीदेखि खरसाङको गोथल्स मेमोरियल स्कूलबाट आईएससी परीक्षासम्मको पढाई पूरा गरेका छन्। माता रोशनी तामाङले गोथल्स मेमोरियल स्कूलका सबै शिक्षकहरूलाई धन्यवाद दिएकी छन्। उनले अभिभावकले नानीहरूको शिक्षा साथै सपनालाई साकार गर्नलाई सपोर्ट गर्नुपर्छ भनी बताइन्। उनले छोरा रिङ्देनले भविष्यमा युपीएससी परीक्षा उत्तीर्ण गर्ने इच्छा राखेको बताउँदै परिवारले रिङ्देनको पढाईमा पूरा सहयोग रहनेछ भनी बताइन्। रिङ्देन लेप्चाको सफलतामा उनको बाजे धनप्रकाश तामाङले पनि नातिको सफलतामा बधाई दिन्दै गोथल्स मेमोरियल स्कूलका सबै शिक्षकहरूलाई बधाई दिएका छन्। हुने बिरूवाको चिल्लो पात भने झैं रिङ्देनले सानैदेखि राम्रो पढाई गर्दै परीक्षाहरू उत्तीर्ण गर्दै आएका थिए। उनी सानैदेखि पढाईमा अब्बल रहेका थिए। उनले आफ्नो सफलतामा सोनादा क्षेत्र र खरसाङको गोथल्स मेमोरियल स्कूललाई नै गौरान्वित बनाएका छन्।










