झापा: यही मई ५ तारिख आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ। वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्रयोगशालाले जानकारी दिएको छ। प्रयोगशालाका व्यवस्थापक काजी विष्टले भने, “रबिबार दिउँसोसम्म घाम लाग्यो। साँझदेखि हिउँ पर्दै रोकिँदै, फेरि हिउँ पर्दै गर्ने क्रम जारी छ।” सो प्रयोगशालामा मौसम स्टेसन रहेकाले आसपासको मौसमी अवस्थाको विश्लेषण भइरहेको उनले बताए। हिउँ पर्न थालेपछि चिसो बढेकाले सगरमाथा आरोहीसमेत आधार शिविर आसपास रोकिएका छन्। हिमाली र पहाडी भेगमा मेघगर्जनसहितको चट्याङ परिरहेकाले सतर्क रहन मौसमविद्ले सावधानी गराएका छन्। अचाक्ली गर्मी र प्रदूषण बढ्दा सगरमाथा क्षेत्रमा पनि त्यसको असरले मौसम तातिन थालेको थियो।
देशका विभिन्न भेगमा भने पूर्वमनसुन (प्रिमनसुन) को हल्का वर्षा सुरु भएपछि गर्मीमा थोरै राहत पुगेको छ । लामो समयको खडेरी भुलाउने गरी भने हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ। लामो खडेरी, डढेलो र त्यसपछिको तुवाँलोका कारण देशका अधिकांश भूभाग धूमिल भएको थियो। जसका कारण वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेको थियो। वर्षाले प्रदूषण कम गराउँदा वायुको गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरिएको वातावरण विभागले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र भारतको आसपास निर्मित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका विभिन्न भेगमा रबिबार साँझदेखि वर्षा हुन शुरु भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षा हुनेछ।
त्यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए। तराईको मधेश र लुम्बिनी भने बुधबारसम्म पनि सुक्खा रहने भएको छ। त्यहाँ आज मंगलबार हावाहुरी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार रातिपछि भने तराईका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। काठमाडौँ उपत्यकामा भने रबिबार साँझ हल्का वर्षा भयो। सोमबार, मंगलबार र बुधबार पनि केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबारदेखि सोमबार साँझसम्मको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही स्थानमा मध्यम वर्षा रेकर्ड भएको छ। जस अनुसार सबैभन्दा धेरै कास्की छुमरुङमा ३० मिलिमिटर, कास्कीकै ज्यामिरेमा २२ मिलिमिटर, धनकुटामा १७.८ मिलिमिटर र म्याग्दीको तातोपानीमा १३ मिलिमिटरसम्मको मध्यम वर्षा रेकर्ड भएको मौसमविद् नगरकोटीले जानकारी दिए। अन्यत्र भने फाटफुटदेखि हल्कासम्मको वर्षा रेकर्ड भएको छ। वर्षाको क्रम पश्चिमदेखि पूर्वसम्म पुग्दा करिब पाँच दिन कायम रहने जनाइएको छ।










