सोनादा डिग्री कलेजमा संविधान दिवस पालन

be11a55b-9d91-454e-9089-6d7e2fa2812d

सोनादा: भारतीय संविधान दिवसको अवसर पारेर बिहीबारको दिन सोनादा डिग्री कलेजमा विविध शैक्षिक तथा रचनात्मक कार्यक्रमका साथ संविधान दिवस पालन गरियो। कलेजका प्राचार्य डा. योगेस खातीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कलेजको राजनीतिविज्ञान विभाग तथा राष्ट्रिय सेवा योजना (एनएसएस) युनिटको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।बकार्यक्रममा राजनीतिविज्ञान विभागकी विभागीय प्रमुख प्रा. सुशिलाले भारतीय संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संविधान निर्माताहरूको योगदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धा र सम्मान व्यक्त गरिन्। उनले भारतीय संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानसभाका सदस्यहरूको अथक प्रयास तथा देशलाई लोकतान्त्रिक, धर्मनिरपेक्ष र गणतान्त्रिक राष्ट्रका रूपमा स्थापित गर्न संविधानले खेलेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारिन्। यसको साथै संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेका मौलिक अधिकार, कर्तव्य तथा लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा पनि आफ्नो विचार प्रस्तुत गरिन्। कार्यक्रमका अध्यक्ष तथा कलेजका प्राचार्य डा. योगेस खातीले आफ्नो सम्बोधनका क्रममा भारतीय संविधानका प्रमुख विशेषताहरूमाथि विस्तृत प्रकाश पार्दै संविधानको महत्त्व र यसको व्यावहारिक कार्यान्वयनबारे चर्चा गरे। उनले भारतीय संविधान विश्वकै महत्त्वपूर्ण लिखित संविधानहरूमध्ये एक रहेको उल्लेख गर्दै यसले देशको विविधतापूर्ण सामाजिक, सांस्कृतिक तथा भाषिक संरचनालाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताए।
यसै क्रममा उनले विगतमा भारतीय संविधानलाई अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने कार्यमा आफू पनि सहभागी बन्ने अवसर प्राप्त गरेको स्मरण गर्दै त्यस ऐतिहासिक तथा महत्त्वपूर्ण कार्यमा योगदान दिन पाएकोमा प्रसन्नता व्यक्त गरे। संविधान जस्तो राष्ट्रको सर्वोच्च कानुनी दस्तावेजलाई प्रत्येक नागरिकले सम्मान गर्नुपर्ने र यसमा निहित आदर्श, सिद्धान्त तथा व्यवस्थालाई आत्मसात् गर्दै शिरोपर गर्नुपर्ने कुरामा उनले विशेष जोड दिए। संविधान केवल कानुनी दस्तावेज मात्र नभएर राष्ट्रको लोकतान्त्रिक चेतना, राष्ट्रिय एकता, समानता र सामाजिक न्यायको आधारस्तम्भसमेत रहेको उनको भनाइ थियो।
कार्यक्रमलाई थप ज्ञानवर्द्धक तथा सहभागितामूलक बनाउने उद्देश्यले विद्यार्थीहरूले भारतीय संविधानका विविध पक्षसँग सम्बन्धित छोटा-छोटा वार्ता तथा मन्तव्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले संविधानको ऐतिहासिक पृष्ठभूमि, संविधानका निर्माता, मौलिक अधिकार, मौलिक कर्तव्य, लोकतान्त्रिक व्यवस्था, नागरिकको जिम्मेवारी तथा संवैधानिक मूल्य र मान्यताजस्ता विषयमा आ-आफ्ना विचार राखेका थिए। त्यसैगरी विद्यार्थीहरूले भारतीय संविधानका विभिन्न पक्ष र विशेषताहरूलाई चित्रात्मक रूपमा प्रस्तुत गर्दै आकर्षक पोस्टरहरू तयार पारी प्रदर्शनसमेत गरेका थिए। यस प्रकारका रचनात्मक गतिविधिले विद्यार्थीहरूमा संवैधानिक चेतनाको विकास हुनुको साथै राष्ट्रको लोकतान्त्रिक व्यवस्था र नागरिक दायित्वप्रति सचेत बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो। उक्त समारोहमा कलेजका प्राध्यापक, शिक्षण तथा अशिक्षण कर्मचारीवर्गका साथै विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भनी सोनादा डिग्री कलेजका उप प्राध्यापक
मेघनाथ छेत्रीले बताएका छन्।

About Author

Advertisement