सोनादा: पश्चिम बङ्गाल सरकारको निर्देशन अनुसार सोनादा डिग्री कलेजमा पश्चिम बङ्ग दिवस विविध कार्यक्रमका साथ कलेजका प्राचार्य डा योगेश खातीको अध्यक्षतामा सम्पन्न भयो। कलेजका कार्यक्रमको आयोजना कलेजको इतिहास विभागले गरेको थियो भने सञ्चालन प्रा. इलोरा शर्माले गरेकी थिइन्। कार्यक्रममा “पश्चिम बङ्गाल राज्य निर्माणमा डा. श्यामाप्रसाद मुखर्जीको योगदान” विषयमा आयोजित विशेष वार्तामा इतिहास विभागका डा. प्रमोद छेत्रीले आफ्नो मन्तव्य राख्दै “भारत” र “इण्डिया” नामकरणको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरेका थिए। उनले पश्चिम बङ्गाल राज्य निर्माणसम्मको ऐतिहासिक घटनाक्रमलाई विस्तृत रूपमा प्रस्तुत गर्दै पश्चिम बङ्गालको निर्माणमा डा. श्यामाप्रसाद मुखर्जीले पुर्याएको योगदानको उल्लेख गरेका थिए। कार्यक्रमका अध्यक्ष डा. योगेश खातीले पश्चिम बङ्ग दिवसको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै कार्यक्रमको सफल आयोजनाका लागि इतिहास विभाग, सम्पूर्ण शिक्षण तथा अशिक्षण कर्मचारी र सहभागी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा शिक्षण अशिक्षणकर्मीहरु तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता ऐतिहासिक तथा शैक्षिक कार्यक्रमले इतिहासप्रतिको ज्ञान र सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।










