सोनादा डिग्री कलेजको ४१औँ स्थापना दिवस सम्पन्न

photocollage_2026914223150430

विधायक सोनाम लामाद्वारा कलेजलाई ५ लाख रुपियाँ प्रदान गर्ने घोषणा

सोनादा: सोनादा डिग्री कलेजको ४१औँ स्थापना दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम, सम्मान तथा सम्वर्द्धनाका साथ भव्य एवं गरिमामय रूपमा सम्पन्न भयो। समारोहका प्रमुख अतिथि क्षेत्रीय विधायक सोनाम लामाले कलेजको पूर्वाधार तथा शैक्षिक विकासका लागि आफ्नो विधायक कोषबाट ५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे। यसैगरी कलेजका भूमिदाता मिमानी परिवारका प्रतिनिधि दीपङ्कर मिमानीले कलेजका तीनजना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे। कलेजका प्राचार्य डा. योगेश खातीको अध्यक्षता तथा विधायक सोनाम लामाको प्रमुख आतिथ्यमा आयोजित समारोहमा विधायकका धर्मपत्नी रञ्जना प्रधान, निरज थापा, कलेजका जमीनदाताका पक्षमा दिपङ्कर मिमानी आदि विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने कलेजका संस्थापक सदस्य, भूमिदाता परिवार, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिका, जीटीएका विभिन्न विभागका अधिकारी, सामाजिक तथा साहित्यिक संस्थाका प्रतिनिधि, पञ्चायत प्रतिनिधि, कलेजका शिक्षक अशिक्षणकर्मी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा कलेजको प्रवेशद्वारमा अतिथिहरूलाई स्वागत एवं अभ्यर्थना गरिएको थियो। त्यसपछि प्रमुख अतिथि विधायक सोनाम लामाले कलेजको झण्डोत्तोलन गरे। कलेजका दिवङ्गत संस्थापक सदस्यहरूको स्मृतिमा पुष्पार्पण गरी उनीहरूको योगदानप्रति श्रद्धा व्यक्त गरिएको थियो। कलेजको अरिबहादुर गुरुङ स्मृति प्रेक्षागृहमा आयोजित औपचारिक समारोहमा अध्यक्ष, प्रमुख अतिथि, भूमिदाता परिवारका प्रतिनिधि, संस्थापक सदस्य तथा उनीहरूका परिवारजन, विशिष्ट अतिथि, शिक्षक तथा विद्यार्थीहरूको स्वागत गरियो। प्रमुख अतिथि, प्राचार्य तथा भूमिदाताका प्रतिनिधिबाट संयुक्त रूपमा दीप प्रज्वलन गरिएपछि उपस्थित सबैले सामूहिक रूपमा ‘वन्दे मातरम्’ गीत गाएका थिए। दिवङ्गत संस्थापक सदस्यहरूको स्मृतिमा मौनधारणसमेत गरिएको थियो। सांस्कृतिक समितिका संयोजक प्रा. मेघनाथ छेत्रीले स्वागत वक्तव्य राखेका थिए। विद्यार्थी रिया विश्वकर्मा एवं समूहले स्वागत नृत्य प्रस्तुत गरेपछि कलेजको ४१औँ स्थापना दिवसको प्रतीकस्वरूप केक काटिएको थियो। विद्यार्थीहरूले सामूहिक रूपमा ‘आई हेभ ए ड्रिम’ गीत प्रस्तुत गर्दै कलेजलाई प्रगति र उपलब्धिको नयाँ दिशातर्फ लैजाने सन्देश दिएका थिए।
कलेजका प्राचार्य डा. योगेश खातीले आफ्नो प्रतिवेदन तथा सम्बोधनमा कलेजले विगतदेखि वर्तमानसम्म हासिल गरेका शैक्षिक तथा अन्य उपलब्धि र प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गर्दै कलेजले अब विभिन्न नयाँ नयाँ योजनाहरु र सपनाहरु साकार गर्न प्रयासरत रहेकोले यसको लागि सब‌ैले साथ र सहयोग गर्ने निवेदन पनि गरेका थिए। समारोहमा विद्यार्थी तृषा एवं समूह, राशि राई एवं समूह तथा मानसी राई एवं समूहले आकर्षक नृत्य प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए।
समारोहको एउटा महत्त्वपूर्ण पक्षका रूपमा कलेजका लागि भूमि उपलब्ध गराउने मिमानी परिवारका प्रतिनिधि दीपङ्कर मिमानीलाई विशेष सम्बर्द्धना जनाइयो।सम्बर्द्धना-पत्र प्रा. मेघनाथ छेत्रीले पठन गरेका थिए भने प्रमुख अतिथि तथा प्राचार्यले उनलाई स्मृति-चिह्न, शिरशोभा र दोसल्ला प्रदान गरी सम्मान गरे। सम्बोधनका क्रममा दीपङ्कर मिमानीले सोनादा डिग्री कलेजसँग आफ्नो परिवारको सम्बन्ध भविष्यमा पनि कायम रहने बताउँदै कलेजको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसको साथै उनले हरेक वर्ष कलेजका तीनजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।नसमारोहमा उच्च शिक्षा तथा प्राज्ञिक क्षेत्रमा उपलब्धि हासिल गर्ने कलेजका शिक्षकहरूलाई पनि सम्मान गरियो। इतिहास विभागका डा. प्रमोद छेत्री र दर्शनशास्त्र विभागका डा. पार्थ सारथी दासलाई पीएचडी उपाधि पूरा गरेको उपलब्धिका लागि सम्बर्द्धना जनाइयो। त्यसै गरी नेपाली भाषामा भारतको संविधानको लेखन तथा अनुवाद कार्यमा सहभागी बनेको योगदानका लागि प्राचार्य डा. योगेश खाती र प्रा. पेञ्चुला भुटियालाई सम्मान गरिएको थियो।
कलेजमा उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै कलेज टपर बन्न सफल विद्यार्थी रोशनी छेत्रीलाई पनि विशेष सम्मान प्रदान गरियो। स्थानीय पत्रकारिताको विकास तथा समाजमा सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सोनादा क्षेत्रका पत्रकारद्वय किरण छेत्री र सञ्जीव मोहरा अनि सामाजिक सञ्जालमा‌ सक्रिय अनलाइनका पत्रकारहरु सुमन गुरुङ, किरण शर्मा, सागर तामाङ, सोयम प्रधान र अजय राईलाई पनि कलेजका तर्फबाट सम्मान जनाइयो।
प्रमुख अतिथि विधायक सोनाम लामालाई पनि कलेजका तर्फबाट विशेष सम्बर्द्धना जनाइएको थियो। आफ्नो प्रमुख अतिथिको सम्बोधनमा लामाले विद्यार्थीहरूलाई अध्ययनप्रति गम्भीर, अनुशासित र मेहनती बन्न आह्वान गरे। उनले विकसित भारत निर्माणको लक्ष्य पूरा गर्न विद्यार्थी तथा युवावर्गसहित प्रत्येक नागरिकले आ-आफ्नो क्षमता र योग्यताअनुसार योगदान दिनुपर्ने बताए। सोही अवसरमा उनले सोनादा डिग्री कलेजको विकासका लागि आफ्नो विधायक कोषबाट ५ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरे। समारोहमा कलेजका संस्थापक सदस्यहरू भागवान बमजन, प्रताप छेत्री, आर.पी. पाख्रिन, निर्मल कुमार देवान र सुभाष गुरुङ लगायत संस्थापक सदस्य तथा उनीहरूका परिवारजनको उपस्थिति र योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो।
कार्यक्रममा जीटीए शिक्षा विभाग, डीईडीका सहायक अभियन्तन,विद्युत विभाग डीईडीका कार्यकारी अधिकारी डीईडीकी ए.ई. लगायत विभिन्न विभागका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसै गरी सोनादा हाई स्कूल, होली क्रस गर्ल्स स्कूल, शान्ति रानी स्कूल, सेन्ट जेभियर्स स्कूल, सेन्ट पिटर्स स्कूल, सिडर्स हाई स्कूल, साई सुन्दरम स्कूल, माध्यमिक शिक्षा केन्द्र, ग्रीनहिल इङ्ग्लिस स्कूल, मुन्डाकोठी हाई स्कूल र मार्गरेट्स होप हाई स्कूलका प्राचार्य, प्रधानाध्यापक तथा प्रधान अध्यापिका, शिक्षक–शिक्षिकाहरूको पनि सहभागिता रहेको थियो।
सोनादा साहित्य संस्थान, मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान, प्रभाकर समाज आदि साहित्यिक तथा सामाजिक संस्थाका प्रतिनिधि, सोनादा आउट पोस्टका अधिकारी तथा अपर सोनादा ग्राम पञ्चायत, लोवर सोनादा ग्राम पञ्चायत–एक, लोअर सोनादा ग्राम पञ्चायत दुइका प्रधान–उप प्रधान एवं प्रतिनिधिहरू र स्थानीय सामाजिक राजनैतिक कार्यकर्ताहरुको उपस्थितिले समारोहलाई थप गरिमा प्रदान गरेको थियो। कार्यक्रमको अन्त्यमा प्रा. अनिल कुमार विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै समारोह सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता व्यक्त गरे।
४१औँ स्थापना दिवस समारोहलाई व्यवस्थित एवं सफल बनाउन सांस्कृतिक समितिका संयोजक प्रा. मेघनाथ छेत्री, प्रा. सुशीला बराइली, प्रा. रतिका सुब्बा, प्रा. इलोरा शर्मा आईक्युएसीका संयोजिका प्रा पेञ्चला भुटिया,शिक्षक परिषदका सचिव प्रा अनिल विश्वकर्मा, कलेजका सम्पूर्ण शिक्षण–अशिक्षणकर्मी तथा एनसीसी र एनएसएस लगायत सम्पुर्ण विद्यार्थीहरूको सक्रिय भूमिका रहेको थियो।
सम्पूर्ण कार्यक्रमलाई प्रा. अनुपमा तामाङ, प्रा. पर्वत रसाइली र प्रा. मेघनाथ छेत्रीले सञ्चालन गरेका थिए।
समग्रमा सोनादा डिग्री कलेजको ४१औँ स्थापना दिवस समारोह कलेजको चार दशकभन्दा लामो शैक्षिक यात्राको स्मरण, संस्थापक एवं योगदानकर्ताहरूप्रति सम्मान, वर्तमान उपलब्धिको मूल्याङ्कन र भावी विकासप्रतिको नयाँ प्रतिबद्धतासहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको कुरो प्रत्यक्षदर्शीहरुले बताएका छन्।

About Author

Advertisement