सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा सोनादामा भानु जयन्ती समारोह सम्पन्न गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गीतकार पुरण गिरी उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा दिवस गुरुङ, एसआई आनन्द शर्मा, पूर्व प्रधान अध्यापक कल्याण तामाङ, भवन तामाङ, जइन्द्र जेनियम उपस्थित रहेका थिए। अतिथिहरुको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको तस्विरमा दिप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण प्रधान अध्यापिका बिन्दिया प्रधानले राखेकी थिइन्। कार्यक्रममा स्वागत गीत विद्यार्थीहरुले प्रस्तुत गरेका थिए भने घाँसी कविता विद्यार्थी ह्रदय लेप्चाले राखेका थिए। त्यसरी नै आदि कवि भानुभक्त आचार्यको जीवनी विद्यार्थीले प्रस्तुत गरेका थिए भने नवौं र दशौं श्रेणीका विद्यार्थीहरुले रामायण पाठ गरेका थिए। कार्यक्रममा विद्यार्थीहरु क्रमैले स्वीकृति दर्जी, अनिता नेपाल, रेश्मी खातुन आदिले कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार जइन्द्र जेनियम र युवा पत्रकार किरण छेत्रीलाई सम्वर्ध्दना जनाइएको थियो। विशेष गरेर पत्रकार किरण छेत्रीलाई सोनादा उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट युवा पत्रकारिता सेवा सम्मान २०२६ ले सम्मानित गरिएको छ। कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रमलाई विद्यार्थीहरुले नै सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित वरिष्ठ गीतकार पुरण गिरीले नेपाली भाषा खतरामा छ, संकटमा छ भन्दै नानीहरुले आफ्नोे भाषा शुद्ध लेख्न सक्दैन अनि कोशिष पनि गर्दैन भनी बताएका छन्। उनले नानीहरुले आजकल आफ्नो नेपाली भाषा पनि रोमनमा लेख्छ भन्दै सबै नानीहरुलाई नेपाली भाषामा लेख्न आदत बसाल्न पर्छ भनी अपिल गरेका छन्। उनले यसको साथै घरमा अभिभावकहरुले पनि नेपाली भाषा लेख्न नानीहरुलाई गाइड गर्नुपर्छ भनी बताएका छन्।








