सोनादा: सोनादाको स्कट मिशन प्राथमिक पाठशालाको विद्यार्थी नानीहरूलाई लिएर शपथ ग्रहण समारोह सम्पन्न भएको छ। स्कट मिशन प्राथमिक पाठशाला सोनादामा ३० देखि ४० जना विद्यार्थीहरू रहेकोले विद्यार्थीहरूलाई विभिन्न ओहोदा प्रदान गरेर शपथ ग्रहण गराएका छन्। विद्यार्थीहरूलाई विभिन्न ओहोदाहरू जस्तै क्याप्टन, भाइस क्याप्टन र हाउस क्याप्टन बनाएर आज शपथ ग्रहण समारोह पनि सम्पन्न गरिएको छ। उक्त शपथ ग्रहण समारोहमा स्कूल सह निरीक्षक मोहम्मद अबलुस सलिम, स्कूल सञ्चालन समितिको सभापति सुरेनकुमार राई, एटेन्डेन्ट कमिटीको सभापति रशिक छेत्री, लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान बैजन्ती तामाङ, उप प्रधान थिलेन लामा उपस्थित रहेका थिए। यस शपथ ग्रहण समारोहलाई शिक्षिका दिप्ती घिसिङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण एमबी प्रधानले राखेका थिए। कार्यक्रममा रशिक छेत्री, स्कूल सह निरीक्षक मोहम्मद अबलुस सलिम र प्रधान अध्यापक मगेन्द्रमणि थापा आदिले वक्तव्य राखेका थिए। यस कार्यक्रममा विद्यार्थीहरूलाई शपथ ग्रहण साथै स्कूलको आई कार्ड वितरण पनि गरिएको थियो।

यस प्रकारको कार्यक्रम प्राथमिक पाठशालामा आयोजना गरिएको विषयमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा बोर्डका अध्यक्ष राजेस चौहानले सोनादाको स्कट मिशन प्राथमिक पाठशालाको विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरूका तालमेलले गर्दा सराहनीय कार्य सम्पन्न भएको भन्दै बधाई शुभकामना दिएका छन्। उनले यस्तो प्रकारको क्रियाकलाप र पहल अन्य सबै प्राथमिक पाठशालाहरूमा पनि आयोजना गर्न सकिए पहाड़को प्राथमिक शिक्षा व्यवस्थामा उल्लेखनीय उन्नति हुने बताएका छन्।











