अब फर्निचरको पूरा खर्च कम्पनीले ब्यहोर्ने
कोलकाता: सेन्चुरी प्लाईबोर्ड्स (इन्डिया) लिमिटेडले प्लाईवुड उद्योगमा एक नयाँ अध्यायको सुरुवात गर्दै ‘टोटल कभर’ नामक विशेष वारन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीको दाबी अनुसार यो भारतकै पहिलो यस्तो पूर्ण (कम्प्रिहेन्सिभ) वारन्टी हो, जसअन्तर्गत खराबी आउँदा केवल प्लाईवुड साट्ने मात्र नभई फर्निचर पुनः तयार पार्दा लाग्ने सम्पूर्ण खर्च कम्पनी स्वयंले ब्यहोर्नेछ। यसका साथै कम्पनीले आर्थिक वर्ष २०३०-३१ सम्ममा रु. १२,००० करोडको कारोबार पुर्याउने महत्वाकांक्षी लक्ष्य पनि घोषणा गरेको छ।
यस नयाँ योजनाअन्तर्गत क्लब प्राइम र आर्किटेक्ट प्लाई खरिद गर्ने ग्राहकले १० वर्षसम्मको विशेष सुरक्षा प्राप्त गर्नेछन्। उक्त अवधिभित्र कुनै समस्या देखिएमा कम्पनीले प्लाईवुडका साथै ल्यामिनेट, भिनियर, गम, ज्याला र ढुवानी खर्चसमेत उपलब्ध गराउनेछ। विगत साढे दुई वर्षमा ग्राहकबाट आएका गुनासोहरूको अध्ययन गर्दा मुख्य समस्या प्लाई साट्नुभन्दा पनि फर्निचर फेरि बनाउँदा हुने आर्थिक दायित्व र झन्झट रहेको पाइएकाले यो समाधान ल्याइएको कम्पनीका कार्यकारी निर्देशक केशव भजनका र निकिता बन्सलले बताउनुभयो।
वारन्टी दाबी गर्ने प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको छ, जहाँ ग्राहकले खरिद गरेको ९० दिनभित्र अनलाइन बिल दर्ता गरी प्रमाणपत्र लिन सक्नेछन्। कुनै समस्या आएमा ४८ घण्टाभित्रै टोलीले निरीक्षण सुरु गर्ने जनाइएको छ। यस राष्ट्रिय अभियानको बजारीकरणका लागि प्रसिद्ध अभिनेता आमिर खानलाई ब्रान्ड एम्बेसेडर चयन गरिएको छ भने क्षमता विस्तारका लागि चेन्नईस्थित प्लान्टको उत्पादन क्षमता अभिवृद्धि गरिँदैछ।











