खरसाङ: भारतीय मजदुर संघ दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पाले दार्जिलिङका चियाबारी श्रमिक तथा उद्योगसँग सम्बन्धित विभिन्न ज्वलन्त समस्याका विषयमा पश्चिम बंगालका श्रम तथा यातायात मन्त्री अर्जन सिंहसँग खरसाङस्थित टुरिस्ट लजमा भेटवार्ता गरेका छन्। लगभग १० मिनटसम्म चलेको उक्त भेटघाटमा चियाबारी क्षेत्रका महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको थियो। भेटवार्ताका क्रममा जिल्ला महासचिव प्रणय शेर्पाले बन्द चियाबारीहरूको पुनः सञ्चालन, एनसीएलटी अन्तर्गत रहेका चियाबारीहरूको अवस्था, न्यूनतम ज्याला, चियाबारी श्रमिकहरूको आवास, स्वास्थ्य सेवा तथा जमिनको मालिकाना अधिकार लगायतका विषयहरू मन्त्रीसमक्ष जोडदार रूपमा उठाएको जानकारी प्राप्त भएको छ। उक्त प्रतिनिधि मण्डलमा पानीघट्टा चियाबारी का युनिट कमिटीका प्रतिनिधिहरूले पनि आफ्नो चियाबारीका समस्याहरू प्रस्तुत गर्दै मन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका थिए। टोलीमा बीसीएमएस का जिल्ला सदस्य बिनु छेत्रीको पनि उपस्थिति रहेको थियो। भेटपछि श्रम तथा यातायात मन्त्री अर्जन सिंहले श्रमिकहरूको समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उठाइएका विषयहरूको यथाशीघ्र समाधानतर्फ आवश्यक पहल अगाडि बढाइसकेको जानकारी दिएको बह बताइएको छ। यस अवसरमा जिल्ला महासचिव प्रणय शेर्पाले विगतमा दीर्घकालसम्म बेवास्तामा परेका चियाबारी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न अहिले प्रभावकारी पहल भइरहेको उल्लेख गरेका छन्। उनले श्रमिकहरूको बक्यौता, कानुनी अधिकार तथा उद्योगसँग सम्बन्धित समस्याहरूको समाधान भावनात्मक नाराभन्दा पनि कानुनी र प्राविधिक प्रक्रियामार्फत अघि बढाउनुपर्नेमा जोड दिएका छन्। श्रमिकको अधिकार हनन गर्ने कुनै पनि पक्षलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।








