सेना भर्तीसम्बन्धी युवाका लागि जागरूकता कार्यक्रम

IMG-20241220-WA0342

सोरेङ: सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनको तत्वावधानमा सोरेङ स्कुलको स्वर्ण जयन्ती रंगशालामा युवाहरूलाई समेटेर एकदिने भारतीय सेनामा भर्ती प्रक्रियामाथि जागरुकता साथै फ्री मेडिकल हेल्थ क्याम्प आज सम्पन्न भयो। आज सम्पन्न क्याम्पमा सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनका सल्लाहकार एवं प्रिन्सिपल चीफ इन्जिनियर हरिशंकर शर्मा, पूर्व एसटीसीएस अध्यक्ष विष्णु शर्मा, दोदक ग्राम पञ्चायत एकाईका सभापति एचके छेत्री, सोरेङ ग्राम पञ्चायत एकाईका पञ्चायत टीबी सुब्बा, क्याप्टेन कार्तिके शर्मा (आरएमओ), सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संगठनका अध्यक्ष क्याप्टेन पीबी छेत्री, महासचिव बिमल थापासहित अन्य कार्यकारी सदस्यगण, सिक्किम वीर गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन सोरेङ जिल्लाका अध्यक्ष प्रदीप तामाङ सहित अन्य सदस्य गण, भारतीय सेनाका वरिष्ठ डाक्टर र युवाहरुको बाक्लो उपस्थिति थियो।
भारत सरकारले अग्निपथ भर्ती योजना अन्तर्गत जुन २०२२-देखि अग्निवीर भर्ती प्रक्रिया सुरु गरेको छ। भारतीय सेनाको आवश्यकता प्रक्रियाहरू रूपान्तरण गर्न र इच्छुक उम्मेदवारहरूको लागि सहज र प्रभावकारी चयन प्रक्रिया सुनिश्चित गर्ने प्रयासहरूमा अग्निवीर भर्ती महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको छ। यो भर्ती नि:शुल्क, निष्पक्ष र पारदर्शी रहेको आज कार्यक्रममा भूतपूर्व सैनिकहरुले उपस्थित इच्छुक युवाहरुलाई प्रोत्साहित गर्दै जानकारी गराए। उल्लेख्य, अग्निवीर योजनाको उद्देश्य तीनवटै सेना (सेना, वायुसेना र नौसेना) मा सैनिकहरूको औसत उमेर घटाउनु हो। यस योजना अन्तर्गत १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मका युवाहरूलाई चार वर्षका लागि भर्ती गरिन्छ। जसमध्ये २५ प्रतिशतलाई थप १५ वर्ष सेनामा राख्नुपर्ने व्यवस्था छ।

About Author

Advertisement