झापा: सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न झापा प्रशासनले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
जिल्ला सुरक्षा समितिले झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायत पालिकासँग जोडिएका सीमावर्ती क्षेत्र तथा आवतजावतका लागि प्रयोग हुने स्थानको अनुगमन गरिएको हो।
सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उनका अनुसार मुख्य नाकाबाहेक वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करीलाई समेत सूक्ष्म निगरानीमा राखिएको छ।
इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध रूपमा सामग्री निकासी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको प्रशासनले जनाएको छ। यसले राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार तथा सीमा अपराध नियन्त्रणमा सहयोग पुग्ने पोखरेलले बताए।
‘मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो,’ उनले भने।
सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती प्रभावकारी बनाउन निर्देशन दिइएको प्रशासनले जनाएको छ।
सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले अवैध गतिविधि नियन्त्रणका लागि भएका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको विवरण प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने पोखरेलले बताए।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्री भित्रिन सक्ने सम्भावनालाई ध्यानमा राखेर थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको पोखरेलले बताए।





