नयाँ दिल्ली: क्यारिबियन प्रिमियर लिग (सीपीएल २०२६) मा वेस्टइन्डिजका स्पिनर सुनील नरेनले पुनः आफ्नो जादुई बलिङ प्रदर्शन गरेका छन्। त्रिनबागो नाइट्स राइडर्सका तर्फबाट खेल्दै नरेनले सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सविरुद्ध ४ ओभरमा मात्र ७ रन खर्चेर ३ विकेट लिएका हुन्। उनको यो कसिलो बलिङका कारण टोलीले १९ रनको जित हासिल गर्यो।
२४ बलमा २१ बल डट
टी-२० क्रिकेटमा ब्याटरहरूले चौका र छक्काको वर्षा गरिरहँदा नरेनको रहस्यमयी बलिङसामु विपक्षी ब्याटरहरू निरिह बनेका थिए। आफ्ना ४ ओभरका २४ बलमध्ये उनले २१ बल डट फालेका थिए। सिङ्गो पारीमा विपक्षी ब्याटरहरूले नरेनका मात्र ३ बलमा रन जोड्न सफल भए।
खेलको स्थिति
पहिले ब्याटिङ गरेको सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफमा त्रिनबागो नाइट्स राइडर्सले १५ ओभरमा २ विकेट गुमाएर ९४ रन बनाउँदा वर्षाले खेल रोकियो। त्यसपछि डकवर्थ लुइस (डीएलएस) नियमका आधारमा त्रिनबागोलाई १९ रनले विजयी घोषित गरियो।
६५० विकेट नजिक नरेन
टी-२० क्रिकेट इतिहासमा सुनील नरेन सफल बलरमध्ये पर्छन्। उनले अहिलेसम्म ६०८ टी-२० म्याचमा ६४९ विकेट लिइसकेका छन्। यस फर्म्याटमा सर्वाधिक विकेट लिने सूचीमा उनी अफगानिस्तानका राशिद खान (७३६ विकेट) पछि दोस्रो स्थानमा छन्।









