राज्यको सर्वाङ्गिण विकास र सोनार बङ्गला निर्माणका लागि सरकारसँग हातेमालो गर्ने प्रतिबद्धता
कोलकाता: भारतीय उद्योग परिसङ्घ (सीआईआई) पश्चिम बङ्गाल राज्य परिषद्का अध्यक्ष एवम् उडल्यान्ड्स मल्टिस्पेशालिटी हस्पिटलका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकारी डा. रूपक बरुवा र राज्य परिषद्का सह-अध्यक्ष एवम् टिटागढ रेल सिस्टम्स लिमिटेडका उप-प्रबन्ध निर्देशक प्रितिश चौधरीले भारतीय जनता पार्टी पश्चिम बङ्गालका राज्य अध्यक्ष एवम् राज्यसभा सांसद शमिक भट्टाचार्यसँग विशेष भेटवार्ता गरेका छन्। नव-निर्वाचित सरकारसँग मिलेर ‘सोनार बङ्गला’ को सपना साकार पार्न र राज्यको चौतर्फी विकासलाई तीव्र गतिमा अघि बढाउन सीआईआई पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा यस बैठकमा दोहोर्याइएको छ। दार्जिलिङ पहाड र समग्र राज्यको आर्थिक समृद्धिका लागि यो भेटवार्ता निकै महत्त्वपूर्ण मानिएको छ।
यस उच्चस्तरीय बैठकमा राज्यमा नयाँ र ठुला लगानीहरू आकर्षित गर्ने तथा युवाहरूका लागि व्यापक रूपमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयमा गम्भीर छलफल भएको थियो। यसका साथै व्यापार व्यवसाय सञ्चालनलाई अझ सहज र सरल बनाउनका निम्ति प्रगतिशील नीतिहरू निर्माण गर्न सरकारलाई सहयोग पुर्याउने सहमति पनि बनेको छ। युवावर्गको क्षमता अभिवृद्धिका लागि सीआईआईका ‘उत्कृष्टता केन्द्रहरू’ मार्फत विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरेर दक्ष जनशक्ति तयार पार्ने विषयमा पनि दुवै पक्षबीच सकारात्मक कुराकानी भएको छ।
सीआईआईको यस सक्रिय पहलले आगामी दिनहरूमा राज्यको औद्योगिक र सामाजिक क्षेत्रमा ठुलो सुधार आउने अपेक्षा गरिएको छ।









