राष्ट्रिय खुफिया निर्देशिका तुलसी गबार्डद्वारा सनसनीपूर्ण दस्तावेज सार्वजनिक
नयाँ दिल्ली: विश्वभरि विनाश मच्चाउने कोरोना महामारी (कोभिड-१९)-को सुरुआत कहाँ र कसरी भयो भन्ने विषयमाथि अमेरिकामा पुनः एकपटक कडा बहस सुरु भएको छ। अमेरिकाकी राष्ट्रिय खुफिया निर्देशिका (नेशनल इन्टेलिजेन्स डाइरेक्टर) तुलसी गबार्डले केही महत्वपूर्ण दस्तावेजहरू सार्वजनिक गर्दै कोभिड-१९ को उत्पत्ति सम्बन्धी अमेरिकी खुफिया निकायको मूल्याङ्कन र प्रतिवेदनलाई प्रभावित गर्ने प्रयास गरिएको सनसनीपूर्ण दाबी गर्नुभएको छ।
निर्देशिका गबार्डका अनुसार, हालै सार्वजनिक गरिएका दस्तावेजहरूले के स्पष्ट पार्छन् भने पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनका मुख्य चिकित्सा सल्लाहकार रहिसकेका डक्टर एन्थोनी फाउचीले चीनको वुहानस्थित प्रयोगशाला (ल्याब)-सँग जोडिएको अनुसन्धानको फन्डिङ (आर्थिक सहयोग) मा एउटा अहम् भूमिका निर्वाह गरेका थिए। यद्यपि, यी दाबीहरूको स्वतन्त्र रूपले पुष्टि हुन बाँकी नै छ भने डक्टर फाउचीले यसअघि वुहान ल्याबसँग कोरोना भाइरसको सोझो सम्बन्ध रहेको कुरालाई पूर्ण रूपले खारेज गरिसक्नुभएको छ।
राष्ट्रिय खुफिया निर्देशिकाको कार्यालयद्वारा सार्वजनिक गरिएका यी दस्तावेजहरूलाई गबार्डले महामारीको उत्पत्ति र यसमा अमेरिकी संस्थाहरूको भूमिकाको समीक्षा गर्ने दिशामा एउटा ठुलो अनि ऐतिहासिक कदम बताउनुभएको छ। उहाँले भन्नुभयो, “कोभिड-१९ महामारीले अमेरिका लगायत सम्पूर्ण विश्वका मानिसहरूलाई गम्भीर रूपले प्रभावित गर्यो। यस घडीमा अब जनताले यसको पारदर्शिता, सत्यता र जबाफदेहिताको माग गरिरहेका छन्।”
गबार्डका अनुसार सार्वजनिक गरिएका यी रेकर्डहरूले कोरोना भाइरस प्राकृतिक रूपमै पैदा भएको हो या वुहान ल्याबबाट लिक भएको हो भन्ने सम्भावनामाथि सुरुवाती दिनहरूमा अधिकारी र वैज्ञानिकहरू बीच ठुलो बहस भएको कुरालाई पुष्टि गर्दछ। स्मरणीय रहोस्, कोरोनाको उत्पत्तिको विषयलाई लिएर वैज्ञानिक समुदायमा अझै पनि मतभेद छ; कतिपय विशेषज्ञहरू यसलाई प्राकृतिक संक्रमण मान्छन् भने कतिपयले ल्याब लिककै सम्भावना बढी रहेको भन्दै यसको अझ गहिरो अनुसन्धान हुनुपर्ने कुरामा जोड दिँदै आइरहेका छन्।









