सिलगढी: पश्चिम बंगालका मन्त्री शंकर घोषले दुर्गा पूजाका क्रममा डिजे बाजा प्रयोग नगरेर चेतना देखाएको भन्दै सिलीगुडीका पूजा समितिहरूको प्रशंसा गरेका छन्। उनले आगामी वर्षहरूमा पनि यही सकारात्मक परम्परालाई निरन्तरता दिन आग्रह गर्दै आसन्न काली पूजा तथा दीपावलीका अवसरमा अत्यधिक ध्वनि प्रदूषण गराउने पटका नपड्काउन आम नागरिकसँग अपिल गरेका छन्।
शनिबार ‘हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेसन’ले काली पूजा र दीपावलीका समयमा हुने ध्वनि तथा वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न मागसहित मन्त्री घोषलाई ज्ञापनपत्र बुझाएको थियो। सोही क्रममा फाउन्डेसनका सदस्यहरूले पत्रकार सम्मेलन गरी डिजे बाजा र पटकामाथि कडाइका साथ रोक लगाउनुपर्नेमा जोड दिएका थिए।
ज्ञापनपत्र बुझ्दै मन्त्री घोषले दुर्गा पूजामा समितिहरूले देखाएको जिम्मेवार व्यवहारप्रति धन्यवाद व्यक्त गरे। उनले डिजेमुक्त पूजाको यस अभियानलाई आगामी दिनमा पनि कायम राख्न आह्वान गरे।
पटका नियन्त्रणका लागि सरकारले पहिले नै आवश्यक निर्देशिका जारी गरिसकेको उल्लेख गर्दै मन्त्री घोषले नियमको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्पष्ट पारे। उनले ध्वनि प्रदूषण फैलाउने खालका पटका प्रयोग नगर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।





