गोर्खा जनपुस्तकालय खरसाङद्वारा दिवंगत साहित्यकार शमशेर अलि र आजीवन सदस्यहरुप्रति श्रध्दाञ्जली अर्पण

6dc7551a-69ff-46e8-ba82-fd1ca86c0b3d

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट कालेबुङ निवासी साहित्यकार एवं कथाकार शमशेर अलिको निधनमा गहिरो श्रध्दाञ्जली अर्पण गरिएको छ। भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार एवं कालेबुङका चर्चित कथाकार शमशेर अलीको कलकत्तामा निधन भएको थियो। गत केही समयदेखि कलकत्तामा बस्दै आएका कथाकार शमशेर अलिको बिहिबार स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनको चर्चित कथा सङ्ग्रह ‘सोल्तादी गोर्खा मोल्तो ब्यौनी’, बीऊ भाले, छन् भने २०१४ देखि २०२६ सम्म उनले जम्मा ९ वटा कथा सङ्ग्रह र एउटा संस्मरण लेखेका छन्। उल्लेखित दुई कृतिबाहेक हुट्टिट्याऊँ, आफ्रीन, आमा, अबुई, द लास्ट डान्स, खँदुवा बन्दुक, उँभौली जस्ता उम्दा कृतिहरू र अनगन्ति फुटकर रचनाहरू हाम्रो साहित्य उद्यानमा छाड़ेर गएका छन्। उनी धेरै लामो समयदेखि कोलकातामा उपाचारधीन थिए। मृगौला रोग र क्यान्सर जस्ता प्राणघातक रोगसँग जुधिरहेका थिए। उनको निधनमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट श्रध्दाञ्जली अर्पण गरिएको पुस्तकालयकी सचिव गोमा सुब्बाले जानकारी गराएकी छन्। उनले साहित्यकार शमशेर अलिको निधनमा पुस्तकालयको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरिएको बताएकी छन्। यसको साथै सचिव गोमा सुब्बाले गोर्खा जनपुस्तकालय खरसाङका दुईजना वरिष्ठ आजीवन सदस्यहरुको निधनमा पनि श्रध्दाञ्जली अर्पण गरिएको जानकारी गराएकी छन्। उनले बताए अनुसार खरसाङको भानु टोल निवासी वरिष्ठ आजीवन सदस्य टी. एस काङ र खरसाङको नयाँ बजार निवासी वरिष्ठ आजीवन सदस्य कुलप्रसाद शर्माको निधन भएको छ। दुवैजना गोर्खा जनपुस्तकालय खरसाङका वरिष्ठ आजीवन सदस्य रहेका थिए‌। दुवैको निधन शनिवार भएको थियो भने दुवैको पार्थिव शरीरको अन्तिम संस्कार आईतवार गरिने जानकारी गराएकी छन्। यसको साथै दुवै वरिष्ठ आजीवन सदस्यहरुको निधनमा श्रध्दाञ्जली अर्पण गर्न गोर्खा जनपुस्तकालय खरसाङका एक प्रतिनिधि टोली दुवैको घरमा पुगेर श्रध्दाञ्जली अर्पण गरेका छन् भने दुवैको परिवारका सदस्यहरुलाई भेट गरी शोक समवेदना प्रकट गरेको जानकारी पुस्तकालयका सचिव गोमा सुब्बाले दिएकी छन्।

About Author

Advertisement