सिलिम हिल चियाबारीको समस्या समाधानको लागि जोइन्ट फोरमद्वारा तीन दिनको अल्टीमेटम

IMG-20230524-WA0200.jpg

समाधान नभए पहाड़भरिको चियाबारीहरूमा गेट मिटिङ आयोजना गर्ने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिभित्र पर्ने सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा चलिरहेको समस्या विषयमा आज जोइन्ट फोरमका नेतृत्वहरू नयाँ कमान आएका थिए। नयाँ कमानमा प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्ने दिएको निर्देशनको विरोधमा चिया श्रमिकहरूले गत १९ मईदेखि लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका छन्। श्रमिकहरूको उक्त धरणा प्रदर्शनलाई समर्थन पहाड़का सातवटा पार्टीको ट्रेड युनियनको साझा मञ्च जोइन्ट फोरमको पदाधिकारीहरू पनि श्रमिकहरूका धरणामा सामेल भएका हुन्। श्रमिकहरूका उक्त धरणामा जोइन्टको फोरमको पक्षबाट गोरामुमो, गोजमुमो, भाजपा, क्रामाकपा, सीपीआईएम, हाम्रो पार्टी आदि पार्टीका ट्रेड युनियनको पदाधिकारीहरू उपस्थित रहेका थिए। नयाँ कमानमा जोइन्ट फोरमको पक्षबाट गेट मिटिङ सम्पन्न गरिएको थियो जसलाई सीपीआईएमको सचिन खातीले सञ्चालन गरेका थिए। उक्त गेट मिटिङमा जोइन्ट फोरमका नेतृत्वहरू जोइन्ट फोरमको प्रवक्ता एंव क्रामाकपाको ट्रेड युनियनको सचिव सुनिल राईले भने, यो जमीन हाम्रो हो। यहाँ चिया गाछहरू मालिकलाई रोप्ने हामीले दिएको हो र हामीले नै चिया गाछहरू रोपेको हो अनि चियापाती पनि तयार हामीले नै गरेको हो। तर मालिकलाई नाफा नहुँदा रिसर्ट र होटेल बनाउनु त भएन नि। कहिलेसम्म हामी अन्याय र अत्याचारमा बस्ने? कहिलेसम्म हामी य पार्टी र त्यो पार्टी भन्ने? त्यही कारणले हामीले सबै पार्टीको ट्रेड युनियनहरूलाई मिलाएर जोइन्ट फोरम भनेर मिलाएको हो।’
त्यसरी नै गोजमुमोको ट्रेड युनियन डीटीडीपीएलयुको केन्द्रीय सभापति सुरज सुब्बाले आफ्नो सम्बोधनमा यस्तो समस्या नयाँ कमानमा मात्रै होइन तर सम्पूर्ण पहाड़भरि नै रहेको बताउँदै यो समस्या विषयमा हामी सरकार समक्ष राख्ने बताएका छन् । उनले भने, यस बगानको समस्या समाधानको लागि आजदेखि नै जोइन्ट फोरमले काम थाल्नेछ। हामी यो कुरालाई माथिल्लो तहसम्म लिएर जानेछौं। अब तपाईहरूको आन्दोलन हाम्रो पनि भएको छ र यसलाई माथिल्लो तहसम्म लिएर जानेछौं। जोइन्ट फोरम नयाँ कमानका श्रमिकहरूका पक्षमा अघि उँभिनेछ।’
त्यसरी नै गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयुको केन्द्रीय सह सचिव धिरज राईले आफ्नो सम्बोधनमा भने, हामीमा एकता नभएक यस्तो भएको हो। अब यहाँ कराएर मात्रै हुँदैन तर काम गर्नुपर्छ। यहाँको श्रमिकहरूले चिया गाछहरू उखेल्ने दिएको निर्देशनको विरोधमा विगत पाँच दिनदेखि धरणामा बसिरहेका छन्। अब सरकारले यसमा पदक्षेप लिनुुपर्छ। यसको साथै श्रमिकहरूको पाँच दिनको हाजिरा पनि दिनुपर्छ।’
जोइन्ट फोरमको गेट मिटिङमा सम्बोधन गर्दै हाम्रो पार्टीको ट्रेड युनियन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले आफ्नो सम्बोधनमा आफुले सिलिम हिल चियाबारीको समस्या विषयमा सरकारलाई पत्रचार गरेको बताएका छन्। उनले भने, हामी जोइन्ट फोरमको पक्षबाट मालिकलाई पत्रचार गर्नेछौं अनि तीन दिनभित्रमा समस्याको समाधान नभए सिलिम हिल चियाबारीको कारखाना परिसर र प्रबन्धकको बंगलोमा सबै श्रमिकहरू लगेर धरणामा बस्नेछौं।’
जोइन्ट फोरमको पक्षबाट गेट मिटिङमा आफ्नो वक्तव्य राख्दै सीपीआईएमको ट्रेड युनियन सिटुको सचिव एंव पूर्व सांसद समन पाठकले श्रमिकहरूका पक्षमा हामी उँभिएका छौं अनि विरोध गर्दा अनेकतामा होइन तर एकतामा रहेर विरोध गर्नुपर्छ भनी अाह्वान् गरेका छन्। उनले भने, हामी मजदुरहरूले नेता बनाउने आन्दोलन गरिसकेका छौं। अब हामी आफ्नै लागि आन्दोलन गर्नुपर्छ। हाम्रो लागि केही लड्नु आउँदैन तर हामी आफै हाम्रो लागि लड्नुपर्छ।’ उनले अघि भने, सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानको समस्या लिएर हामी सबै ट्रेड युनियनको साझा मञ्च जोइन्ट फोरमको पक्षबाट हामी सबै युनियनको पञ्जीकरण नम्बर लगाएर मालिकलाई पत्रचार गर्नेछौं। त्यसपछि तीन दिनको समय दिनेछौं। त्यो पनि नभए हामी सबै मिलेर बगानको कारखाना अघि धरणा दिन्छौं। नयाँ कमानमा भईरहेको समस्या विषयमा प्रशासनिक हस्तक्षेपको मांग गर्दै महकुमा शासकलाई पनि हस्तक्षेप को माग गर्नेछौं। अझैं समाधान नभए नयाँ कमानको समस्या लिएर पहाड़को सबै चियाबारीहरूमा जोइन्ट फोरमको आयोजनामा गेट मिटिङ आयोजना गर्नेछौं। त्यसपछि पनि समाधान नभए पहाड़ तराई डुवर्स सबैको 4 लाख श्रमिकहरू नयाँ कमानको समस्या समाधानको लागि निकाल्नेछौं।’
सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्न लगाएको निर्देशनलाई विरोध जनाउँदै श्रमिकहरू गत १९ मईदेखि लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका छन्। उक्त गेट मिटिङलाई भाजपाको ट्रेड युनियन भारतीय चिया मजदुर संघको सचिव जितेन गजमेरले पनि वक्तव्य राखेका थिए। उक्त धरणा प्रदर्शन कार्यमा जोइन्ट फोरमको पक्षबाट अन्य पदाधिकारीहरू यस क्रमैले गोजमुमोको बिमल दर्जी, एचपीडब्ल्युयुको केन्द्रीय महासचिव एसके लामा, खरसाङ महकुमा समितिको सचिव बीरेन्द्र छेत्री, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय उपाध्यक्ष थेबा तामाङ, सुमन दियाली लगायत अन्यहरू उपस्थित रहेका थिए।

यसावधि जोइन्ट फोरमको आयोजनामा श्रमिकहरूसित मिलेर विभिन्न नाराहरू पनि लगाइएको थियो। सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानको समस्या समाधानको लागि जोइन्ट फोरमले प्रबन्धक र मालिक पक्षलाई पत्रचार गर्ने भएको छ। उक्त पत्रमा समस्या समाधानको लागि तीन दिनको समय दिने तर समाधान नभएको खण्जमा पहाड़भरिका चिया बगानहरूमा जोइन्ट फोरमले गेट मिटिङ गर्ने भएको छ। त्यतिमा पनि समाधान नभए पहाड़ तराई डुवर्सको सबै चियाबारीका ४ लाख श्रमिकहरू निकाल्ने भएको छ। यसको साथै नयाँ कामनको समस्या समाधानको लागि श्रमिकहरूलाई लिएर जोइन्ट फोरमले सिलिम हिल चियाबारीको कारखाना अघि धरणा प्रदर्शन गर्ने भएको छ।

About Author

Advertisement