सिलगढी: सिलगढीको फास्ट ट्र्याक अदालतका अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीशले सन् २०१७ को एक हत्या मामिलामा आरोपी आनन्द उरावँलाई जन्मकैदको फैसला सुनाएका छन्। अदालतले उनलाई भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३०२ अन्तर्गत दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको हो। जरिवाना नतिरेमा थप छ महिना साधारण जेल बस्नुपर्ने फैसलामा उल्लेख छ।
प्रधान नगर थाना अन्तर्गत चम्पासरी निवासी अजय उरावँले २१ सेप्टेम्बर २०१९ मा आफ्ना पितामाथि विश्वकर्मा पूजाको उत्सवका क्रममा आनन्द उरावँले साङ्घातिक आक्रमण गरेको र सोही चोटका कारण उनको मृत्यु भएको भन्दै उजुरी दर्ता गराएका थिए। प्रधान नगर थानाका सब-इन्स्पेक्टर (एसआई) जोनमेरी भियाने लेप्चाले गरेको विस्तृत अनुसन्धान र सङ्कलित प्रमाणका आधारमा प्रहरीले आरोपीलाई पक्राउ गरी अदालतमा अभियोग पत्र (चार्जसिट) पेस गरेको थियो। सिलिगुडी पुलिस कमिस्नरेटले कानुनको शासन कायम राख्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आफूहरू सदैव प्रतिबद्ध रहेको जनाएको छ।










