लोह पुरुष सरदार पटेलको १५०औँ जन्मजयन्ती: चुङथाङमा पुलिस र स्थानीयको संयुक्त श्रमदान

FB_IMG_1783164192298

चुङथाङ: भारतका ‘लोह पुरुष’ सरदार वल्लभभाइ पटेलको १५०औँ जन्मजयन्तीको अवसर पारेर उत्तर सिक्किमको पर्यटकीय क्षेत्र चुङथाङमा शनिबार विशेष सरसफाइ अभियान (श्रमदान) सञ्चालन गरिएको छ।
चुङथाङ चेकपोस्ट तथा पुलिस चौकीको अगुवाइमा स्थानीय बजार क्षेत्रलाई केन्द्रित गरी सो कार्यक्रम गरिएको हो।
​औपचारिक निर्देशन अनुरूप आयोजना गरिएको यस श्रमदान अभियानमा प्रशासनिक अधिकारीदेखि सर्वसाधारणसम्मको व्यापक सहभागिता रहेको थियो। कार्यक्रमलाई व्यवस्थित बनाउन चुङथाङका एडीसी (विकास), बीडीओ, स्थानीय पञ्चायत प्रतिनिधि, वन विभागका कर्मचारी तथा चुङथाङ फायर स्टेशनका अग्निनियन्त्रकहरू बिहानैदेखि बजार क्षेत्रमा खटिएका थिए। यसैगरी, स्थानीय क्षेत्रमा कार्यरत बहुराष्ट्रिय निर्माण कम्पनी एल एण्ड टी कन्स्ट्रक्सनका अधिकारी तथा मजदुरहरूले पनि उपकरणसहित सरसफाइमा श्रमदान गरेका थिए।

​बजारको फोहोर व्यवस्थापन र रङ्गीचङ्गी गल्लीहरूको सरसफाइ गरिसकेपछि प्रहरीले जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको थियो। त्यस क्रममा चुङथाङका व्यवसायी, होटल सञ्चालक र रैथाने बासिन्दाहरूलाई आफ्नो पसल तथा घर वरपरको क्षेत्र सधैँ सफा राख्न आग्रह गरियो। साथै, प्लास्टिकजन्य र अन्य फोहोरहरू जताततै फाल्दा पर्यटकीय क्षेत्रको सौन्दर्य बिग्रने र वातावरणमा नकारात्मक असर पर्ने भएकाले निर्धारित स्थानमा मात्र फोहोर विसर्जन गर्न पुलिसले विशेष निर्देशिका जारी गरेको छ। चुङथाङका एसएचओको कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक र वातावरणीय सुधारका कामहरूलाई निरन्तरता दिइनेछ।

About Author

Advertisement