मन्त्री डा. शङ्कर घोषद्वारा स्थलगत निरीक्षण
सिलगढी: सिलगढी सहरकै सबैभन्दा ब्यस्त व्यावसायिक क्षेत्रहरूमध्ये एक मानिने विधान रोडमा लामो समयदेखि हुँदै आएको सवारी जामको समस्या समाधान गर्न प्रशासनले कञ्चनजङ्घा स्टेडियमको मेला मैदानलाई एउटा छुट्टै पार्किङ जोनका रूपमा विकसित गर्ने प्रस्ताव अघि सारेको छ। शनिबार पर्यटन मन्त्री तथा सिलीगुडीका विधायक डा. शङ्कर घोषले ट्राफिक पुलिसका वरिष्ठ अधिकारीहरू, डीसीपी (ट्राफिक), ट्राफिक विभागका कर्मचारी र महानगरपालिकाका प्रतिनिधिहरूसहित प्रस्तावित स्थलको निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा अधिकारीहरूले सवारी साधनको प्रवेश र निकास बिन्दु, आन्तरिक सवारी सञ्चालन योजना, सुरक्षा व्यवस्था र पार्किङस्थलको समग्र व्यवस्थापनका मुख्य पक्षहरूको समीक्षा गरेका थिए।
अधिकारीहरूका अनुसार यो पार्किङ जोन पूर्ण रूपमा तयार भएपछि यहाँ एकै पटक सयौँ दुई र चार चक्के सवारी साधनहरू पार्किङ गर्न सकिनेछ।
महानगरपालिकाले यसका लागि निश्चित शुल्क तोकेर व्यवस्थित पार्किङ प्रणाली लागू गर्ने अपेक्षा गरिएको छ।
यो कदमले विधान रोडमा जथाभाबी गरिने अवैध सडक किनारको पार्किङलाई उल्लेखनीय रूपमा कम गर्नेछ, जुन यस क्षेत्रमा दैनिक सवारी जामको मुख्य कारण बन्दै आएको छ।
यो नयाँ व्यवस्थाले विधान मार्केट र हङकङ मार्केट जस्ता प्रमुख व्यावसायिक केन्द्रहरूमा आउने ग्राहक तथा उपभोक्ताहरूलाई ठुलो राहत पुर्याउनेछ। विशेष गरी दार्जीलिङ, कालिम्पोङ र सिक्किमबाट आउने पर्यटक तथा सर्वसाधारणले यहाँ सधैँ गम्भीर पार्किङ समस्या भोग्नु परिरहेको हुन्छ। यो परियोजना सञ्चालनमा आएपछि सिलगढीकाे सबैभन्दा ब्यस्त व्यावसायिक क्षेत्रमा सवारी आवागमनमा ठुलो सुधार आउने अधिकारीहरूले बताएका छन्। निरीक्षणका क्रममा मन्त्री डा. घोषले यस योजनालाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ।










