ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले स्वामी विवेकानन्दको निर्वाण दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धासुमन व्यक्त गर्दै मुख्यमन्त्री खाण्डुले विवेकानन्दलाई भारतका एक महान् सुपुत्रका रूपमा स्मरण गरे, जसले देशको सभ्यतागत आत्मविश्वासलाई पुनर्जागृत गराउनुका साथै वेदान्तको शाश्वत दर्शनलाई विश्वसामु चिनाएका थिए।
मुख्यमन्त्री खाण्डुले सन् १८९३ मा सिकागोमा आयोजित विश्व धर्म संसद्मा स्वामी विवेकानन्दले दिएको ऐतिहासिक सम्बोधनलाई स्मरण गर्दै, त्यसले पश्चिमा जगत्मा भारतको आध्यात्मिक विरासतलाई हेर्ने दृष्टिकोणमै एउटा ठूलो परिवर्तन ल्याएको उल्लेख गरेका छन्। आफ्ना व्याख्यान र रचनाहरू मार्फत स्वामी विवेकानन्दले वेदान्तलाई एउकी सार्वभौमिक दर्शनका रूपमा प्रस्तुत गरेको चर्चा गर्दै खाण्डुले हरेक आत्माको दिव्यता, धर्महरूबीचको सद्भाव र मानव जातिको निःस्वार्थ सेवा नै उनको मुख्य सन्देश रहेको बताएका छन्।










