मङ्गन: सिक्किम इन्टरप्रेन्योरसिप एन्ड इकोनोमिक डेभलपमेन्ट (सीड) सेल र वाणिज्य तथा उद्योग विभाग अन्तर्गतको जिल्ला उद्योग केन्द्र (डीआईसी) मङ्गनको संयुक्त तत्वावधानमा शनिबार तिङचिम चादे र पाक्शेप मङ्गनमा एकदिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ। बेरोजगार युवा, इच्छुक उद्यमी र व्यवसायीहरू माझ विभिन्न केन्द्रीय तथा राज्य सरकारका योजनाहरूबारे जानकारी गराई उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वित्तीय सहायता, अनलाइन मार्केटिङ प्लेटफर्म र मेन्टरसिपका अवसरहरूबारे विस्तृत रूपमा चर्चा गरिएको थियो। पाक्शेप मङ्गनमा मङ्गन नगर पञ्चायतकी अध्यक्ष छिरिङ डोमा भोटिया र तिङचिम चादेमा जिल्ला पञ्चायत सदस्य मोतीमाया लिम्बू मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सीड सेलका सङ्गठन सचिव तासी ओङडुप लेप्चा, डीआईसीका संयुक्त निर्देशक जनक क्षेत्री र निरीक्षक नोर्बु छिरिङ लेप्चाले प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम (पीएमईजीपी) र जिल्ला उद्योग केन्द्रको भूमिकाबारे प्रकाश पारेका थिए। त्यस्तै, ‘लर्निङ लिङ्क्स’ का सहजकर्ता आशिष गुरुङ र योगेश लामाले वित्तीय साक्षरता सम्बन्धी सेसन सञ्चालन गरेका थिए। कार्यक्रमको समापनमा मङ्गन नगर पञ्चायतका ब्रान्ड एम्बेसेडर रिन्जिङ नामग्याल भोटियाले धन्यवाद ज्ञापन गर्दै युवाहरूलाई एमएसएमई विकासका योजनाहरूको फाइदा उठाउन आग्रह गरे भने कार्यक्रमको सफल संयोजन सीड सेलका अपरेसनल म्यानेजर विष्णु कुमार खतिवडाले गरेका थिए।










