सिलगढी: सडक सुरक्षालाई कडाइका साथ लागू गर्ने अभियानअन्तर्गत सिलगढी पुलिस कमिश्नरेटअन्तर्गतको सिलगढी ट्राफिक पुलिसले सहरभर विशेष जाँच अभियान सञ्चालन गरेको छ। हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने र क्षमताभन्दा बढी (ट्रिपल राइडिङ) मानिस चढाउने चालकहरूलाई लक्षित गरी यो अभियान चलाइएको हो।
जाँचका क्रममा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी चालकहरूलाई नियन्त्रणमा लिई मोटर वाहन ऐन (मोटर भेइकल एक्ट) का प्रावधान अनुसार कानुनी कारबाही गरिएको छ।
पुलिसले हेलमेट केवल कानुनी बाध्यता मात्र नभई जीवन रक्षा गर्ने मुख्य सुरक्षा कवच भएको स्पष्ट पारेको छ। त्यसैगरी, दुईपाङ्ग्रे सवारीमा दुईभन्दा बढी व्यक्ति सवार हुनाले दुर्घटनाको जोखिम अत्यधिक बढ्ने र यसले अरूको जीवनसमेत खतरामा पार्ने पुलिसको भनाइ छ। ट्राफिक नियमको पूर्ण पालना गर्न, अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न र जिम्मेदार नागरिकको परिचय दिँदै सिलगढीका सडकहरूलाई सुरक्षित बनाउन ट्राफिक पुलिसले सर्वसाधारणसँग अपिल गरेको छ।









