एक रुपैयाँको सिक्कामा पुनः नक्सा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय​

132518047

काठमाडौँ: नेपाल सरकारले एक रुपैयाँको सिक्काको नयाँ प्रस्तावित डिजाइन फिर्ता लिँदै त्यसमा देशको नक्सा समावेश गर्ने निर्णय गरेको छ। यसअघि नयाँ डिजाइनमा नेपालको नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक घार गुम्बाको चित्र मात्र राख्ने प्रस्ताव गरिएको थियो।​सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित नयाँ सिक्काको डिजाइनमा घार गुम्बाका साथै नेपालको चुच्चे नक्सा पनि अनिवार्य रूपमा समावेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।​सिक्काबाट नक्सा हटाउने विषयलाई लिएर विभिन्न क्षेत्रमा चासो र बहस सिर्जना भएपछि सरकारले स्पष्टीकरण दिँदै यसमा कुनै राजनीतिक उद्देश्य नरहेको स्पष्ट पारेको छ। सिक्काको डिजाइन परिवर्तन गर्ने प्रक्रिया वर्तमान सरकार गठन हुनुभन्दा धेरै अघि नै सुरु भइसकेको र यो एक नियमित प्रशासनिक प्रक्रिया मात्र भएको मन्त्रिपरिषद्ले जनाएको छ।​यसअघि राष्ट्र बैंकले मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व रहेको घार गुम्बाको चित्र राखेर सिक्का निष्कासन गर्ने तयारी गरेको थियो। तर, राष्ट्रिय प्रतीकका रूपमा रहेको नक्सा हटाउन नहुने जनस्तर र प्रशासनिक वृत्तको सुझावपछि सरकारले पुरानो निर्णय सच्याउँदै नक्सा र गुम्बा दुवै रहने गरी नयाँ डिजाइन तयार पार्न निर्देशन दिएको हो।

About Author

Advertisement