सिलगढी: महिला सुरक्षा र कम्युनिटी पुलिसिङप्रतिको निरन्तर प्रतिबद्धताअन्तर्गत सिलगढी पुलिस कमिसनरेटको भक्तिनगर थाना मातहत रहेको आशिघर चौकीले सचेतना कार्यक्रम आयोजना गरेको छ। आशिघर चौकी क्षेत्रको तेलीपाडाका महिलाहरूसँग पुलिसले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा महिलाहरूमा आत्मविश्वास बढाउने, आफ्ना अधिकारहरूप्रति सजग गराउने र आवश्यक परेको बेला निर्धक्क भई पुलिसको सहयोग लिन प्रोत्साहित गर्ने विषयमा छलफल गरिएको थियो।
कुनै पनि आपत्कालीन अवस्था वा समस्या पर्दा तत्काल सहयोग प्राप्त होस् भन्ने उद्देश्यले सहभागी महिलाहरूलाई आशिघर चौकी, भक्तिनगर थाना र महिला हेल्प डेस्कको सम्पर्क नम्बरहरू प्रदान गरिएको प्रहरीले जनाएको छ। सिलगढी पुलिसले महिला तथा समग्र समाजका लागि सुरक्षित, सहयोगी र उत्तरदायी वातावरण निर्माण गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।









