सिलगढी: पश्चिम बंगाल सरकारका मन्त्री डा. शङ्कर घोषको नेतृत्वमा शनिबार सिलिगुडीका प्रमुख व्यापारिक तथा सहरी क्षेत्रहरूमा संयुक्त स्थलगत अनुगमन गरिएको छ। मन्त्री डा. घोषसहित सिलगढी नगर निगमका आयुक्त, वरिष्ठ अधिकारी तथा सम्बन्धित विभागका कर्मचारीहरूको टोलीले हिलकार्ट रोड, विधान रोड र विधान मार्केट क्षेत्रको निरीक्षण गरेको हो।
शनिबार बिहान आयोजना गरिएको उक्त अनुगमनमा नगर निगमको सरसफाइ विभाग (कन्सरभेन्सी), लोक निर्माण विभाग (पीडब्लुडी), विद्युत् विभागलगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा टोलीले सहरी क्षेत्रको वर्तमान वस्तुस्थिति, ढल निकास, सडक तथा विद्युतीय व्यवस्थाका साथै नागरिक सुविधाहरूको समीक्षा गरेको छ। स्थानीय क्षेत्रमा देखा परेका समस्याहरूको तत्काल समाधान गर्ने र नागरिक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो अनुगमन गरिएको सिलिगुडी नगर निगमले जनाएको छ।









