खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायतको डायरी गाउँ नव युथ क्लब स्थापनाको पच्चीसौँ वर्ष पूर्ण भएको अवसरमा स्थानीय डायरी गाउँ जनमैदानमा गान्धी जयन्ती एवम् गान्धी स्मारक नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेल साथै सम्वर्द्धना कार्यक्रम सम्पन्न भयो। केबी बुढाथोकी, पूर्व शिक्षक, डायरी गाउँ प्राथमिक पाठशालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डायरी गाउँ नव युथ क्लबका संस्थापक सदस्यका परिवार, वर्तमान सदस्यका परिवार, क्लबलाई सहयोग गरिआउने शुभचिन्तकगण, सामाजिक, खेलकुद आदि क्षेत्रमा निरन्तर योगदान पुऱ्याउने व्यक्ति, व्यक्तित्वहरूलाई स्मृति चिन्ह प्रदान गर्दै सम्मान गरियो। समाजसेवी रमेश थापा, लघु उद्योग ब्रह्मधन गौशालाका निर्देशक ब्रह्मलाल शर्मा, क्याम प्रोडक्सनका निदेशक एवम् सङ्गीतकार गायक किशोर राई, युवा सामाजिक कार्यकर्ता नितेश छेत्री, क्लबका कर्मठ सदस्य एवम् डायरी गाउँ जनमैदानका जमीन दाता जानिमा लेप्चा, क्लबका कर्मठ सदस्य सुसेन लेप्चा, पूर्व फुटबल खेलाडी एवम् कोच जलदीप राई, क्लबका संस्थापक सभापति स्व एल एम राईकी धर्मपत्नी जयमती राई, फुटबल खेलाडी स्वर्णिम आचार्य आदिलाई विशेष सम्मान गर्दै स्मृति चिन्ह प्रदान गरिएको थियो।
त्यसै गरी शैक्षिक क्षेत्रमा लामो स समयदेखि योगदान पुऱ्याएर अवकाशप्राप्त जीवन बिताइरहेका पूर्व प्रधान अध्यापक, डायरी गाउँ प्राथमिक पाठशाला डोनाल्ड सादा, समाजसेवी एंव पर्यटन व्यवसायी विक्रम राई, लोक गायक नरबहादुर गुरुङ, साहित्य स्रष्टा सन्ध्या आचार्यलाई क्रमैले शैक्षिक, सामाजिक, साङ्गीतिक अनि साहित्यिक योगदानको निम्ति सम्वर्ध्दनासहित अभिनन्दन जनाइएको थियो।
जम्मा ४८ वटा दलहरुले भाग लिएको गान्धी स्मारक नकआउट फुटबल टुर्नामेन्टको फाइनल खेल फोर स्टार बर्दर्स आरएल रोङचोङ अनि गोर्खा बोइजमाझ सम्पन्न भएको थियो। खुबै रोमाञ्चक खेलमा गोर्खा बोइजले १ को विरुद्ध २ गोल गरी विजेता ट्रफीसहित नगद राशी हात पार्न सफल बन्यो। फोर स्टार ब्रदर्स आर एल रोङचोङका खेलाडी सागर ठटाल आजको खेलमा सर्वोत्कृष्ट खेलाडी चयन भए भने टुर्नामेन्ट अवधि सर्वाधिक गोल गर्ने खेलाडी गोर्खा बोइजका विनम मगर साथै टुर्नामेन्टको अवधिभरि उत्कृष्ट प्रदर्शन गर्ने रोङचोङ दलका खेलाडी किरण के. धिमाललाई क्रमैले ट्रफी अनि नगद इनाम प्रदान गरियो। खेलको सञ्चालन प्रमुख निर्णायक फानुस लेप्चा, सह-निर्णायक सञ्जुएल लेप्चा अनि एनोरा लेप्चाले गरेका थिए भने गोल जज क्रमैले विश्वास लेप्चा अनि मतियास लेप्चा रहेका थिए।

कार्यक्रममा ब्रह्मधन गौशालाको तर्फबाट डायरी गाउँ नव युथ क्लबले रजत जयन्ती पूर्ण गरेको अवसरमा प्रशस्ति पत्र पनि प्रदान गरिएको थियो। यस टुर्नामेन्टको विजेता अनि उपविजेता ट्रफी समाजसेवी रमेश थापाले प्रदान गरेका थिए भने म्यान अफ द म्याच, म्यान अफ द टुर्नामेन्ट अनि सर्वाधिक गोलकर्ताको ट्रफी ब्रह्मधन गौशालाको तर्फबाट उपलब्ध गराइएको थियो। त्यसैगरि उपस्थित सम्पूर्ण अतिथिगणका निम्ति रजत जयन्ती स्मृति-चिन्ह प्रा० सदीप प्रधान, महासचिव, भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति, दार्जीलिङले उपलब्ध गराएका थिए।
यसै कार्यक्रमको अवसरमा सिटोङ ट्राइबल जुनियर हाई स्कूलको तर्फबाट स्थानीय पूर्व फुटबल खेलाडीहरू जलदीप राई, जगत आचार्य अनि सञ्जय छेत्रीलाई पनि प्रशस्ति पत्रले सम्मान गरिएको थियो। डायरी गाउँ प्राथमिक पाठशालाका विद्यार्थी अनि गुरुङ गाउँ छलम्बोङका नानीहरूले नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई सञ्जीव छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा समाजसेवी पी बी मल्ल, सिटोङ एक ग्राम पञ्चायतका पूर्व प्रधान डिगेल लेप्चा, डायरी गाउँ प्राथमिक पाठशाला प्रधान अध्यापिका रुफिना कार्थक, शिक्षक ज्ञानपीठ उमावि अरुणकुमार राई, शिक्षक ज्ञानपीठ उमावि दिलीप गुरुङ, वरिष्ठ सदस्यहरू दयाछिरिङ लेप्चा, दाउद लेप्चा लगायत विभिन्न स्थानीय एवम् संलग्न क्षेत्रका अतिथिको पनि उपस्थिति रहेको थियो। कार्यक्रम भव्य रुपमा सफल भएको भन्दै क्लबका सचिव सञ्जुएल लेप्चा अनि सभापति युनस लेप्चाले सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भनी सिटोङबाट सञ्जीव छेत्रीले जानकारी गराएका छन्।










