गान्तोक: सिक्किमको सिङताम पुलिस थाना अन्तर्गत अप्पर राङछाङमा मंगलबार दिउँसो एउटा निजी सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। धानबारीबाट कागेथाङतर्फ गइरहेको स्पार्क कार अनियन्त्रित भई सडकबाट करिब १८० फिट तल खसेर दुर्घटनाग्रस्त भएको पुलिसले जनाएको छ।
दुर्घटनामा परी तुमिन धानबारी निवासी २२ वर्षीय सोनाम छितेन भोटियाको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा घाइते भएका वाहन चालक साङ्गे भोटियालाई स्थानीय बासिन्दाहरूको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि साम्दोङ प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) पुर्याइएको छ। दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनाको यकिन कारण भने अझै खुल्न सकेको छैन। सिङताम पुलिसले घटनाबारे उजुरी दर्ता गरी कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाएको छ।










