गान्तोक: गान्तोकको सिचे निवासी स्मिता लामाले सिक्किम विश्वविद्यालयको सातौँ दीक्षान्त समारोहमा प्रतिष्ठित स्वर्ण पदक (गोल्ड मेडल) प्राप्त गरी राज्यकै गौरव बढाएकी छन्। गान्तोकस्थित मनन केन्द्रमा आयोजित एक विशेष समारोहका बीच उनलाई यो सम्मान प्रदान गरिएको हो। सिक्किम विश्वविद्यालयअन्तर्गत सन् २०२४ को एम.फार्म परीक्षामा सर्वोत्कृष्ट अङ्क हासिल गरेकी लामालाई फर्मास्युटिकल साइन्सेज (औषधि विज्ञान) को क्षेत्रमा उत्कृष्ट शैक्षिक प्रदर्शन र समर्पणका लागि यो मान-पदवी दिइएको हो। उक्त भव्य दीक्षान्त समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मू, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत राज्य तथा केन्द्रीय सरकारका उच्च अधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।
स्मिता लामाले गान्तोकको पाल्जोर नामग्याल गर्ल्स सिनियर सेकेन्डरी स्कूलबाट विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् भने रुमटेकस्थित साजोङ सरकारी फार्मेसी कलेजबाट स्नातक (बी.फार्म) र पाकिम जिल्लाको माझीटारस्थित हिमालयन फार्मेसी इन्स्टिच्युटबाट फर्मास्युटिक्समा स्नातकोत्तर (एम.फार्म) गरेकी हुन्। उनको यस ऐतिहासिक सफलताको पछाडि उनकी एकल आमा राधा तामाङको अटल समर्पण, धैर्य र बिनाशर्तको सहयोग लुकेको छ। संर्घषका हरेक मोडमा शक्तिको बलियो खम्बा बनेर उभिएकी आमाकै प्रेरणा र प्रोत्साहनले गर्दा स्मिताले सबै शैक्षिक चुनौतीहरूलाई पार गर्दै आत्मविश्वासी रूपमा यो उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी हुन्। स्मिता लामा वर्तमान समयमा गान्तोकको तादोङस्थित सिक्किम प्रोफेसनल विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर (सहायक प्राध्यापक) को रूपमा कार्यरत रही नयाँ पुस्तालाई आफ्नो ज्ञान बाँडिरहेकी छन्। उनको यो शानदार उपलब्धि युवाहरूका लागि एक ठूलो प्रेरणाको स्रोत बन्नुका साथै उनको परिवार, समुदाय र समग्र सिक्किमको प्राज्ञिक क्षेत्रका लागि अत्यन्त गर्वको विषय बनेको छ।










