कोलकाता: सिक्किम र पश्चिम बङ्गाल सरकारबीच अन्तर-राज्यीय यातायात, पूर्वाधार निर्माण र टिस्टा नदीको वैज्ञानिक व्यवस्थापन गर्ने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको छ। सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पश्चिम बङ्गालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग कोलकातास्थित राज्य सचिवालय ‘नबान्न’ मा भेटवार्ता गरेपछि सो सहमति भएको हो। भेटघाटका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गर्दै सिक्किमका मुख्यमन्त्रीले दुई राज्यबीचको सम्बन्धमा यसलाई एउटा नयाँ र फलदायी सुरुवातको रूपमा चित्रण गर्नुभएको छ। मुख्यमन्त्रीले समकक्षी अधिकारीलाई कार्यभार सम्हालेकोमा बधाई दिँदै कार्यकालको सफलताको कामना समेत गर्नुभयो।
लामो समयदेखि थाती रहेको सिक्किमेली ट्याक्सी चालकहरूको मागलाई सम्बोधन गर्दै पश्चिम बङ्गाल सरकारले काउन्टर-सिग्नेचर परमिटको कोटा ३ हजारबाट बढाएर ६ हजार पुर्याउने ऐतिहासिक निर्णय गरेको छ। यो निर्णयसँगै सिक्किममा दर्ता भएका ट्याक्सीहरूले सिलीगुडी लगायत पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा सहजै आवतजावत गर्न पाउने भएका छन्। यसबाट सिक्किमका ‘सारथी’ भनिने चालकहरू प्रत्यक्ष लाभान्वित हुने र दुई राज्यबीचको यातायात सञ्जाल थप सुदृढ हुने विश्वास लिइएको छ।
यसैगरी उपचारका लागि सिलीगुडी पुग्ने सिक्किमेली नागरिकहरूको सहजताका लागि सिलीगुडीस्थित एसएनटी परिसरमा ‘सुस्वास्थ्य भवन सिक्किम’ निर्माण गर्ने पूर्वप्रस्तावित योजनालाई बङ्गाल सरकारले स्वीकृति दिएको छ। रोकिएर रहेको उक्त प्रस्तावलाई मुख्यमन्त्री अधिकारीले तत्काल अघि बढाउन र सम्बन्धित विभागलाई अनुमति जारी गर्न निर्देशन दिनुभएको छ।
यसका साथै सन् २०२३ मा आएको हिमताल विस्फोट बाढी (जीएलओएफ) का कारण टिस्टा नदीको सतह बढ्दा राष्ट्रीय राजमार्ग-१० मा ठूलो क्षति पुग्नुका साथै सिक्किमसँगको सम्पर्क बारम्बार टुट्दै आएको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि दुवै सरकारले संयुक्त रूपमा वैज्ञानिक ढङ्गले टिस्टा नदीको ड्रेजिङ अर्थात् हिलो-बालुवा निकाल्ने कार्य गर्ने सहमति गरेका छन्। सिक्किमका मुख्यमन्त्रीले बङ्गाल सरकारको तर्फबाट प्राप्त तदारुकता र सकारात्मक निर्णयहरूका लागि मुख्यमन्त्री अधिकारीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ।










