गुवाहाटी: असममा मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई नयाँ गति दिइने भएको छ।
असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले भारतका केन्द्रीय मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंह (ललन सिंह) सँगको फलदायी बैठकपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस योजनाबारे आधिकारिक जानकारी गराएका हुन्।
आफ्नो फेसबुक पोस्टमा मुख्यमन्त्री सरमाले असमको कृषि र ग्रामीण अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन राज्य सरकारले यी क्षेत्रहरूलाई सधैं उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन्। बैठकमा असमलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउँदै प्रमुख निर्यातमुखी राज्यका रूपमा विकास गर्ने रणनीतिका बारेमा विस्तृत छलफल भएको उनले बताए। माछाको उत्पादन वृद्धिका साथै प्रशोधन पूर्वाधार (प्रोसेसिङ इन्फ्रास्ट्रक्चर) बलियो बनाउने, मूल्य शृङ्खला (भ्यालु चेन) को विकास गर्ने र बजार सञ्जाल विस्तार गर्ने विषयमा दुई नेताबीच सहमति बनेको छ।
त्यसैगरी, राज्यको दुग्ध सहकारी क्षेत्रलाई थप सबल बनाउन उन्नत पशु चिकित्सा सेवा, पशु औषधि केन्द्रको स्थापना, टेट्राप्याक (यूएचटी) र मिल्क पाउडर प्लान्ट निर्माण जस्ता ठूला परियोजना अघि बढाउने निर्णय भएको मुख्यमन्त्री शर्माले जनाएका छन्। कृत्रिम गर्भाधानका माध्यमबाट गाईको नश्ल सुधार गरी दुग्ध उत्पादन बढाउने रणनीति समेत तय गरिएको छ। बैठकमा उठाइएका यी कदमहरूलाई छिट्टै धरातलमा उतारेर असमको ग्रामीण जनजीवनमा आर्थिक क्रान्ति ल्याउन केन्द्र र राज्य सरकारले मिलेर काम गर्ने उनले दृढता व्यक्त गरे।










