राज्यको समग्र विकास र सुशासनका लागि महत्त्वपूर्ण निर्णय
कोलकाता: पश्चिम बङ्गाल सरकारका मन्त्री विशाल लामाले राज्य सचिवालय ‘नबान्न’ मा मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीको अध्यक्षतामा सम्पन्न महत्त्वपूर्ण मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमा सहभागिता जनाउनुभएको छ। बैठक सकिएलगत्तै मन्त्री लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस उच्चस्तरीय बैठकबारे जानकारी गराउनुभएको हो।
उहाँका अनुसार बैठकमा राज्यको समग्र विकास, जनकल्याण र सुशासनसँग सम्बन्धित दूरगामी महत्त्वका नीतिगत तथा प्रशासनिक विषयहरूमा विस्तृत र अर्थपूर्ण छलफल भएको छ। पश्चिम बङ्गालको प्रगतिलाई तीव्र गति दिने र विकासका प्रतिफलहरू राज्यका प्रत्येक नागरिकसम्म पुर्याउने उद्देश्यका साथ क्याबिनेटमा धेरै महत्त्वपूर्ण निर्णयहरू लिइएका छन्।
सामाजिक सञ्जालमा धारणा राख्दै मन्त्री लामाले मुख्यमन्त्री सुवेन्दु अधिकारीको दूरदर्शी नेतृत्वमा पश्चिम बङ्गाल सरकार विकास, पारदर्शिता, जनहित र समावेशी शासनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उहाँले जनताको आकांक्षा पूरा गर्न र राज्यको उज्ज्वल भविष्य निर्माणका लागि सरकारले अटल समर्पण र प्रतिबद्धताका साथ जनसेवाको संकल्पलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास समेत दिलाउनुभएको छ।










