गान्तोक: “सिक्किम मिल्क” को नयाँ बिक्री केन्द्र उद्घाटन अवसरमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै सिक्किम मिल्क युनियन लिमिटेडका प्रबन्ध निर्देशक तिलबहादुर घतानीले बिक्री केन्द्र स्थापना गर्नुको उद्देश्य, यसबाट उपभोक्ताले पाउने लाभ तथा सर्वसाधारणका लागि उपलब्ध गराइने विभिन्न दुग्धजन्य उत्पादनबारे जानकारी दिएका छन्। उनले नयाँ बिक्री केन्द्रमार्फत उपभोक्ताहरूलाई गुणस्तरीय तथा स्थानीय दुग्ध उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन्। साथै, सिक्किमभरि स्थानीय स्तरमा उत्पादित दुग्धजन्य सामग्रीको पहुँच विस्तार गर्ने दीर्घकालीन योजना रहेको पनि उनले उल्लेख गरे।घतानीले राज्यका दुग्ध किसानहरूको उत्पादनलाई प्रोत्साहन दिन तथा स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास अझ बलियो बनाउन यस्तो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।








