गान्ताेक: ब्याडमिन्टन एसोसिएसन अफ सिक्किम (बीएएस) का महासचिव सुकान्त दास सन् २०२६ को बिडब्लुएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिपको मूल आयोजक समिति सदस्यमा मनोनीत भएका छन्।
नेपालसँग सिमाना जोडिएको भारतीय राज्य सिक्किमका खेल प्रशासक दासलाई भारतीय ब्याडमिन्टन संघ (बीएआई) का अध्यक्षले उक्त जिम्मेवारीमा मनोनीत गरेका हुन्। आगामी अगस्ट १७ देखि २३ (साउन ३२ देखि भदौ ७) सम्म नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा प्रतियोगिता सञ्चालन हुँदैछ। भारतले १७ वर्षको लामो अन्तरालपछि यो प्रतिष्ठित प्रतियोगिता आयोजना गर्न लागेको हो।
ब्याडमिन्टन विश्व महासंघ (बिडब्लुएफ) द्वारा आयोजित यो प्रतियोगितालाई ब्याडमिन्टनको ‘विश्वकप’ मानिन्छ। ओलम्पिक पछिको दोस्रो ठूलो मानिने यस प्रतियोगितामा विश्वभरका शीर्ष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
बीएएसका अध्यक्ष ज्याकोब राईको नेतृत्वमा सिक्किमले राष्ट्रिय स्तरमा पुर्याएको योगदान र दासको लामो प्रशासनिक अनुभव, दक्षता तथा समर्पणको कदर गर्दै यो जिम्मेवारी दिइएको संघले जनाएको छ। आयोजक समितिको कोर सदस्यका रूपमा दासले रणनीतिक योजना, सञ्चालन व्यवस्थापन र अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वयको मुख्य भूमिका निर्वाह गर्नेछन्।
सिक्किम ब्याडमिन्टन संघले दासको यो नियुक्तिलाई सिङ्गो सिक्किम राज्यकै गौरवको विषय भन्दै खुसी व्यक्त गरेको छ।









