जुलुकको ‘हेयरपिन बेन्ड्स’ उत्कृष्ट ल्याण्डस्केप घोषित
गान्तोक: सिक्किम पर्यटनको क्षेत्रमा एउटा ठूलो उपलब्धि थपिएको छ। राज्यको प्रसिद्ध पर्यटकीय स्थल पूर्वी सिक्किमको जुलुकस्थित प्रतिष्ठित ‘हेयरपिन बेन्ड्स’ (घुमावदार मोडहरू) लाई “मोस्ट इन्स्टाग्रामेबल ल्याण्डस्केप” (सामाजिक सञ्जालमा साझा गर्न योग्य सबैभन्दा सुन्दर परिदृश्य) को रूपमा प्रतिष्ठित ‘इण्डिया टुडे टुरिजम अवार्ड २०२६’ प्रदान गरिएको छ।
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सामाजिक सञ्जालमार्फत यो गौरवपूर्ण समाचार साझा गर्नुभएको हो। उहाँले भन्नुभयो, “यो प्रतिष्ठित मान्यताले जुलुकको मनमोहक सुन्दरताको उत्सव मनाउँछ र भारतको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सिक्किमको गरिमालाई अझ मजबुत बनाउँछ।”
हालै आयोजित एक भव्य समारोहमा माननीय केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री श्री गजेन्द्र सिंह शेखवात र गोवाका माननीय मुख्यमन्त्री श्री प्रमोद सावन्तले संयुक्त रूपमा यो पुरस्कार प्रदान गर्नुभएको थियो। सिक्किम सरकारको तर्फबाट उक्त पुरस्कार माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री छिरिङ टी. भोटिया र पर्यटन तथा नागरिक उड्डयनका अध्यक्ष श्री सोनाम नोर्गे लाचुङ्पाले ग्रहण गर्नुभएको थियो।
मुख्यमन्त्रीले सिक्किम पर्यटन विभाग र विश्वसामु राज्यको प्राकृतिक सौन्दर्यलाई निरन्तर प्रवर्द्धन गर्ने सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।









