७२ वर्षीया प्यारालाइसिस बिरामीले गरिन् प्याराग्लाइडिङ
नाम्ची: सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागको आयोजनामा लिङ्खिम टारमा सञ्चालन भइरहेको साताव्यापी ‘सिक्किम एडभेन्चर टुरिजम फेस्टिभल’ को पाँचौँ दिन थप रोमाञ्चक बनेको छ। नोभेम्बर १ देखि ७ सम्म आयोजना भइरहेको यस महोत्सवमा बिहीबार मानिसहरूको उल्लेख्य उत्साह देखियो।
आजको कार्यक्रमको मुख्य आकर्षण ७२ वर्षीया मनमाया सुब्बा रहिन्। प्यारालाइसिस रोगबाट पीडित भई शारीरिक रूपमा अस्वस्थ भए तापनि उनले दृढ इच्छाशक्तिका साथ साहसिक रूपमा प्याराग्लाइडिङ गर्दै आकाशमा उडान भरिन्।

त्यस्तै, दुईवटा र्याफ्ट र एउटा सेफ्टी कायक समावेश गरिएको पहिलो रिले एडभेन्चर टोलीमा न्यासनल एडभेन्चर फाउन्डेसनका अध्यक्ष लेफ्टिनेन्ट जनरल रमण धवन र एनसीसीका एओ कर्नेल हरप्रित सिंहसहित अन्य पाँच जनाको सहभागिता रहेको थियो। यो टोली नाम्ची जिल्लाको चेम्चेमा आयोजित दोस्रो आईएचसीएई सिक्किम पार्टनरसिप कन्क्लेभ २०२६ मा सहभागी हुन गएको थियो। दोस्रो र्याफ्टमा सात जना गरी आजको रिले एडभेन्चरमा कुल १४ जनाको सहभागिता रहेको थियो। उक्त टोली दिउँसो १:२० बजे लिङ्खिम टार पुग्दा पर्यटन तथा नागरिक उड्डयन विभागका उपनिर्देशक (एडभेन्चर सेल) मनोज क्षेत्रीले स्वागत गरेका थिए।
यसैबिच, आजै विभागका विभिन्न शाखाहरू सूचना तथा प्रचार, प्रशासन, इन्जिनियरिङ सेल र सम्पत्ति शाखाबिच आन्तरिक बाधा दौड (अब्स्ट्याकल कोर्स) प्रतियोगिता आयोजना गरिएको थियो। त्यसैगरी, अन्तर-विभागीय प्रतियोगितामा पर्यटन विभागको टोली ‘बी’ र ‘सिक्किम इन्स्पायर्स’ (पीएमयू) बिच प्रतिस्पर्धा भएको थियो।

सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित यो साताव्यापी महोत्सव नाम्ची जिल्लाको नामथाङस्थित लिङ्खिम टारमा भइरहेको छ। जल, स्थल र आकाशमा खेलिने विभिन्न साहसिक खेलहरू समावेश गरिएको यस महोत्सवले सिक्किमलाई साहसिक पर्यटनको उदयीमान गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।





