गान्तोक: भारतका उपराष्ट्रपति सी पी राधाकृष्णन आज राजधानीको मनन केन्द्रमा आयोजित ५१औँ राज्य दिवस समारोहमा सहभागी भएका छन्। कार्यक्रममा सञ्चार तथा उत्तर–पूर्व क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तमाङ र मुख्यमन्त्रीकी पत्नी कृष्णा राय विशेष रूपमा उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति राधाकृष्णनले सिक्किम एकता, दिगो विकास र अनुशासित जीवनको आदर्श राज्य भएको बताएका छन्। उनले राज्य स्थापना दिवसको समारोहमा सहभागी हुन पाएकोमा आफू सम्मानित महसुस गरेको उल्लेख गरे। उनले सिक्किमलाई केवल कृषि दृष्टिले मात्र नभई आचरणको दृष्टिले पनि जैविक राज्यका रूपमा वर्णन गरे। गान्तोकसम्मको आफ्नो सडक यात्रालाई स्मरण गर्दै उपराष्ट्रपतिले राज्यका जनतामा न्यानोपन, मर्यादा, सरसफाइ र नागरिक अनुशासन देखिएको बताए। उनले सिक्किमलाई प्रकृति, संस्कृति र शासनबीचको सन्तुलनको उज्ज्वल उदाहरण बताउँदै यो राज्यले विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। उनले सिक्किमलाई यसको रणनीतिक महत्त्वका कारण “राष्ट्रको प्रहरी” पनि भने। राज्यको पर्यटन क्षेत्र र वातावरणमैत्री पर्यटन पहलहरूको प्रशंसा गर्दै उपराष्ट्रपतिले गान्तोकको एम जी मार्ग सरसफाइ र नागरिक व्यवस्थापनका दृष्टिले देशका लागि उदाहरण भएको बताए। उनले पर्यटकहरूलाई स्थानीय संस्कृति, परम्परा र सरसफाइ मापदण्डको सम्मान गर्न आग्रह गरे। स्वच्छ भारत अभियानको उल्लेख गर्दै उनले व्यवहार परिवर्तन निरन्तर जनसहभागिता र सचेतनाबाट क्रमशः सामाजिक बानीमा रूपान्तरण हुने बताए। उनले रेलवे सम्पर्क विस्तार र पर्यटन पूर्वाधार विकाससहित राज्यको यातायात व्यवस्थाको प्रशंसा गर्दै भविष्यमा पुनः सिक्किम भ्रमण गर्ने अपेक्षा व्यक्त गरे। सम्बोधनको अन्त्यमा उनले सिक्किमवासीहरूको शान्ति, समृद्धि र प्रगतिशील भविष्यको कामना गरे।









