सिक्किमलाई ऋणमुक्त बनाउॅंछौ भनेर सत्तामा आएको एसकेएमले अझ ऋणमा डुबाएको छः गणेश राई

n58839713817094830774304d091c8f3687e7bbdecc28e82f14292c1daeeded54f336778dde385d07f3563b.jpg

सिङताम: ‘सिक्किमलाई ऋणमुक्त बनाउॅंछौ भनेर सत्तामा आएको एसकेएम सरकारले सिक्किमलाई हजारौं करोड़को ऋणमा डुबाएको छ। पॉंच वर्षको आफ्नो कार्यकालमा एसकेएम सरकारले सिक्किमलाई ११ हजार करोड़भन्दा धेरै ऋणमा डुबाएको छ।’ सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका प्रमुख समन्वयक तथा पार्टीको मुख्यमन्त्री पदका उम्मेदवार गणेश राईले यस्तो आरोप लगाएका हुन्।

उनी आज (आइतवार) सिङतामस्थित गोलीटारमा उत्तर र पूर्व जिल्लाका निम्ति आयोजित नागरिक जनसभालाई सम्बोधन गर्दै थिए। एसकेएम पार्टीको घोषणा पत्र पल्टाउॅंदै क्याप नेता गणेश राईले घोषणा पत्रमा ऋणमा डुबेको सिक्किमलाई ऋणमुक्त बनाउने घोषणा गरिएको छ भनी बताए। तर, एसकेएम सरकारले ऋणमा डुबेको सिक्किमलाई ऋणमुक्त गर्नुको साटो अझ धेरै ऋणमा डुबाएको उनले आरोप लगाए।

एसकेएम सरकारले पॉंच सालमा ११ हजार करोड़भन्दा धेरै ऋणको भारी राज्यवासीहरूलाई बोकाएको छ भन्दै एसकेएमलाई अझ पॉंच साल समय दियो भने राज्यको स्थिति के हुनेछ भनी उनले सचेत गराए। उनले ऋण भनेको भावी पीढ़ीको भाग हो, तर राज्य सरकारले वर्तमान होइन भविष्यलाई पनि ध्यानमा नराखि काम गरिरहेको छ भने।

आफ्नो सम्बोधनमा मुख्यमन्त्री पदका उम्मेदवार गणेश राईले क्याप आगामी लोकसभा र विधानसभा चुनाउको निम्ति पूर्ण रूपले तयार रहेको बताए। सिक्किमे जनताले मन बनाइसकेको छ भन्दै क्यापले अवश्य सरकार गठन गर्नेछ भनी उनले ठोकुवा गरे। क्यापले सरकार गठन गरेपछि न्यायसंगत समाज निर्माण गर्नुका साथै सबैका लागि समान अवसर सुनिश्चित गर्नेछ भने।

उनले एसकेएम सरकार विफल बनिसकेको दाबी गर्दै एसकेएम सरकारलाई केही व्यक्तिहरूले केवल आफ्नो इच्छापूर्तिको निम्ति हाइज्याक गरिसकेको छ भने। उनले सिक्किमलाई चाहिएको नेतृत्व क्यापबाहेक एसकेएम र एसडीएफ कसैसॅंग नरहेको पनि दाबी गरे। उनले सिक्किमलाई चाहिएको जस्तो सुधार नभएसम्म क्यापको अभियान जारी रहने पनि बताए।

क्याप सिक्किम अध्यक्ष भरत बस्नेतले आफ्नो सम्बोधनमा सिक्किमे मूलका नेपालीहरूमाथि लागेको विदेशीको कलंक अझै पनि मेटिएको छैन भनी दाबी गरे। उनले राज्यसभाको दस्तावेजमा यो कलंक अझै पनि जिउॅंदै छ भन्दै यसलाई चुनौती नदिइए भावी सन्तान उठिबास लाग्न सक्छ भने। उनले २०२४ को चुनाउ १९७४ मा भएको चुनाउ जस्तै रहेको बताए भने क्यापलाई सत्तामा नपुऱ्याएको खण्डमा सिक्किमको अस्तित्व नै नरहन सक्ने सम्भावना रहेको बताए। अर्कोतिर, उनले आउॅंदो चुनाउमा क्यापको जित निश्चित रहेको र गणेश राई अवश्य मुख्यमन्त्री बन्नेछ भनी घोषणा नै गरे।

कार्यक्रमलाई पूर्व अध्यक्ष एवं राज्य चुनाउ कमिटीका अध्यक्ष एलपी काफ्लेले पनि सम्बोधन गरे। यस अवसरमा देवेन्द्र सुब्बाले एसकेएम र कौशल लोहागुणले एसडीएफ त्यागेर क्यापमा सामेल भए। यसैगरी, राज्यका विभिन्न ठाउॅंहरूबाट एक हजारभन्दा धेरै जना क्यापमा सामेल भएको जानकारी गइराएको छ। कार्यक्रमलाई देवेन्द्र सुब्बा र कौशल लोहागुणले पनि सम्बोधन गरेका थिए।

आजको सभाले राज्यमा राष्ट्रपति शासन लागू हुनुपर्छ, ओएफओजेबाट निकालिएका कर्मचारीहरूलाई ९ मार्चसम्ममा पुनः नियुक्त गर्नुपर्ने र सिक्किम उर्जामाथि केन्द्रिय जॉंचको माग गर्दै प्रस्ताव ग्रहण गरिएको छ।

About Author

Advertisement