गान्तोक: सिक्किमको सिङताम प्रहरी थाना अन्तर्गत साङखोला नजिकै केराबारीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग १० मा भएको उक्त दुर्घटनामा परी चालक समेत गम्भीर घाइते भएका छन्। माझीटारबाट गान्तोक जाँदै गरेको सवारी साधन सडकबाट करिब ३०० फिट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा माझीटार निवासी २१ वर्षीया अनन्या घतानी र चालक शिव छेत्री गम्भीर घाइते भएका थिए। स्थानीय बासिन्दाले उद्धार गरी उनीहरूलाई तत्काल सिङताम जिल्ला अस्पताल पुर्याएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि तादोङस्थित सीआरएच अस्पताल रेफर गरिएकी अनन्याको उपचारकै क्रममा निधन भएको हो।
गम्भीर घाइते भएका चालक छेत्रीलाई भने एसटीएनएम अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले चालकविरुद्ध उजुरी दर्ता गरी दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।








