गान्तोक: भारतीय सेनाको जवान लिएर भारत-चीन सीमातिर पर्ने जलुक तर्फ गइरहेको सेनाको एउटा वाहन पूर्व सिक्किमको पाकिम जिल्लाको दलपचन्दमा दुर्घटनाग्रस्त हुँदा चार जवानको मृत्यु भएको छ। प्राप्त समाचारअनुसार कालेबुङ पेदोङबाट जलुक जाँदै गर्दा दलपचन्द डाँडामा दुर्घटना भएको हो। मध्य प्रदेश निवासी चालक सिपाही प्रदीप पटेल, सीएफएन डब्लु. पीटर इम्फाल, नायक गौरव सिंह हरियाणा र तामिलनाडुका सुवेदार के थाङ्गापान्डीको निधन भएको छ। सेनाको बिन्नागढी ईएमसी एकाईका जवानहरू थिए भने दुर्घटनामा दलपचन्द डाँडाबाट लगभग ७ सयदेखि ८ सय फिट तल अक्करे भीरबाट खसेको छ। यो सडक रिनाक-रोङली स्टेट हाइवेमा पर्दछ। सेना र स्थानीय, पुलिस, वनकर्मीले शवहरू उद्दार गर्ने कार्य थालेको छ भने घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। दुर्घटनाको कारण छानबिनको अवस्थामा छ।










