खरसाङ: सिक्किममा निर्माण भएको तथा खरसाङकै छोरो एंव अभिनेता केवल सुब्बाको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘हो नि हजुर’ खरसाङमा प्रदर्शन गरिने भएको छ। सुरज खातीको निर्देशनमा रहेको उक्त नेपाली फिल्ममा सिक्किम, दार्जिलिङ, खरसाङ, कालेबुङ क्षेत्रका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्म विषयमा आज प्रेस क्लब अफ् खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर फिल्मको निर्देशक एंव संगीतकार सुरज खाती र अभिनेता केवल सुब्बाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले दिएको जानकारी अनुसार पश्चिम सिक्किमको विभिन्न स्थानहरुमा छायांकन गरिएको यस नेपाली फिल्म आगामी ९ सेप्टेम्बरदेखि खरसाङको गिध्द पहाडस्थित सिनेमा हालमा प्रदर्शन गरिने भएको छ। नेपाली फिल्म ‘हो नि हजुर’ मा संगीत सुरज खातीको रहेको छ भने स्वर बानिका प्रधान, इस्माएल दास, साईराज खाती, स्मिता प्रधान, सुरज खाती आदिको रहेको छ भने संगीत संयोजन सुमित विश्वकर्म रहेका छन्। उक्त फिल्म युवा पुस्ता र पुरानो पुस्ता दुवैलाई मिलाएर निर्माण गरिएको रोमान्टिक, कमेडी, पारिवारिक साथै गीत संगीतले भरिएको फिल्म रहेको निर्देशक सुरज खातीले बताएका छन्। उनले यो फिल्म एकपल्ट सबैले हेरिदिने निवेदन गरेका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै ‘हो नि हजुर’ नेपाली फिल्मका मुख्य अभिनेता केवल सुब्बाले धेरै वर्षपछि यस्तो फिल्म निर्माण भएको छ। किनभने यस फिल्ममा ९० को दशकको फिल गराउने साथै अहिलेको पुस्तालाई पनि समेटेर बनाइएको छ।

यो पारिवारिक फिल्म हो जसमा नयाँ र पुराना पुस्ता दुवैलाई लिएर बनाइएको छ। यो फिल्म मनोरञ्जनात्मक नेपाली फिल्मको रुपमा पनि बनाइएको छ। उनले खरसाङ क्षेत्रका मानिसहरुलाई यस फिल्म हेर्न आग्रह गरेका छन्।





