सिक्किममा ग्लोफ पीडित अझै पुनर्स्थापनाको पर्खाइमा, भाजपाद्वारा स्थलगत निरीक्षण

FB_IMG_1788373316280

गान्तोक: सन् २०२३ को विनाशकारी ‘ग्लेसियल लेक आउटबर्स्ट फ्लड’ (ग्लोफ) बाट प्रभावित तुमिन-लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत लोअर कम्बल वार्डका बासिन्दाले अझै पर्याप्त राहत र पुनर्स्थापना नपाएको भन्दै भारतीय जनता पार्टी (भाजपा) सिक्किमले गम्भीर आपत्ति जनाएको छ।
​प्रशासन र राज्य सरकारबाट समस्या समाधानका लागि अपेक्षित पहल नभएको भन्दै स्थानीयले पटक-पटक गुनासो गरेपछि भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा गएको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार (२ सेप्टेम्बर) सो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
​निरीक्षणका क्रममा प्रतिनिधिमण्डलले ग्लोफका कारण धेरै परिवारका घर, खेतीयोग्य जमिन र अन्य सम्पत्तिमा व्यापक क्षति पुगेको पाएको छ। सम्बन्धित निकायमा पटक-पटक गुहार माग्दा पनि हालसम्म पुनर्स्थापना र उचित सहयोग नपाएको भन्दै पीडितहरूले आक्रोश पोखेका छन्।
​भाजपा सिक्किमले विपद्पछिको राहत तथा पुनर्स्थापना कार्यक्रम कार्यान्वयनको अवस्थाप्रति गम्भीर प्रश्न खडा भएको जनाएको छ। घटना भएको लामो समय बितिसक्दा पनि नागरिकलाई क्षतिग्रस्त घर र जमिनमै संघर्ष गर्न बाध्य पार्नु दुःखद रहेको बताउँदै पार्टीले राहत र पुनर्स्थापना प्रशासनिक औपचारिकता मात्र नभई नागरिकप्रतिको दायित्व, न्याय र मानव सम्मानको विषय भएको स्पष्ट पारेको छ।
​केन्द्र सरकारबाट विपद् व्यवस्थापनका लागि प्राप्त बजेट तथा सहयोग वास्तविक पीडितसम्म पारदर्शी, समयमै र जवाफदेही ढङ्गले पुग्नुपर्नेमा जोड दिँदै भाजपाले यो मुद्दालाई उच्चस्तरीय निकायसमक्ष उठाउने निर्णय गरेको छ। लोअर कम्बलका प्रभावित परिवारले न्याय र पुनर्स्थापना नपाएसम्म निरन्तर आवाज उठाइरहने प्रतिबद्धतासमेत भाजपा सिक्किमले व्यक्त गरेको छ।

About Author

Advertisement