गान्ताेक: सिक्किमको राजधानी ग्याङटोकस्थित रिज पार्कमा आयोजित ‘गुरु रिन्पोछे थुन्कर त्शेचु’ (गुरु पद्मसम्भव जयन्ती) को पावन समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर सहभागी भएका छन्।
समारोहका अवसरमा राज्यपाल माथुरले उपस्थित विशिष्ट अतिथिहरू, बौद्ध अनुयायीहरू, लामाहरू र श्रद्धालुहरूसँगै विधि-विधानअनुसार पूजा-अर्चना गर्दै सिक्किम राज्यमा सुख, शान्ति र समृद्धिको कामना गरे।
देवरालीस्थित दोड्रुल छोर्तेनबाट गुरु रिन्पोछेको शोभायात्रा (झाँकी) निकालेर मुख्य मार्ग हुँदै रिज पार्क पुगेपछि मूल समारोह सुरु भएको थियो।
उक्त आध्यात्मिक उत्सवमा धर्म विभागका मन्त्री सोनाम लामा, ग्याङटोक क्षेत्रका विधायक डीले नामग्याल बरफूङ्पा, स्यारी निर्वाचन क्षेत्रका विधायक तेन्जिङ लाम्था र मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा नीमाको विशेष उपस्थिति रहेको थियो। समारोहमा विभिन्न विभागका वरिष्ठ अधिकारीहरू, शिक्षक तथा ठूलो सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो।










