सिक्किममा एचपीभी स्व–नमूना अभियानको श्वेतपत्र सार्वजनिक

IMG-20240717-WA0003

गान्तोक: स्वास्थ्य तथा परिवार कल्याण विभाग सिक्किम ले राजधानीस्थित एक होटलमा एचपीभी स्व–नमूना अभियानसम्बन्धी राज्यस्तरीय श्वेतपत्र प्रसार कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा विभागीय मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिका रूपमा उपस्थित थिए। सो अवसरमा उनले सिक्किममा सर्वाइकल क्यान्सर जाँचका लागि एचपीभी स्व–नमूना सम्बन्धी श्वेतपत्र औपचारिक रूपमा सार्वजनिक गरे।
राज्य सरकारले प्रारम्भिक पहिचान र स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने उद्देश्यले विशेष गरी गान्तोक जिल्ला मा सर्वाइकल क्यान्सर परीक्षणका लागि एचपीभी स्व–नमूना पाइलट परियोजना सुरु गरेको जनाएको छ। पहिले सामाजिक कलंक र संकोचका कारण धेरै महिलाहरू जाँचबाट टाढा रहने गर्थे। तर स्व–नमूना विधिबाट सयौँ बिरामीको प्रारम्भिक पहिचान सम्भव भएको विभागले जनाएको छ।
कार्यक्रममार्फत आशा कार्यकर्ताहरूको सहयोगमा महिलाहरूले घरमै वा निजी स्थानमा नमूना संकलन गर्न सक्ने व्यवस्था गरिएको छ। विभागका अनुसार ९९ प्रतिशतभन्दा बढी महिलाले यो विधिलाई सहज मानेका छन्। यो पहल गैर–सङ्क्रामक रोग रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले यस पहलअन्तर्गत ९० प्रतिशत विद्यालय जाने बालिकाहरूलाई समेटिएको उल्लेख गर्दै यस्तो उपलब्धि हासिल गर्ने सिक्किम देशकै पहिलो राज्य बनेको बताए। उनले यस सफलताको श्रेय प्रेमसिंह तामाङ को नेतृत्वलाई दिएका छन्।
मन्त्रीले विभागका सचिव छेवाङ ग्याछो, राज्य स्वास्थ्य आईईसी अधिकारी डा. सोनाम जी भोटिया लगायत अधिकारी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको योगदानको पनि प्रशंसा गरे।
यस क्रममा उनले “९०–७०–९० सूत्र” बारे पनि चर्चा गरे। जसअनुसार १५ वर्षसम्मका ९० प्रतिशत बालिकालाई एचपीभीविरुद्ध पूर्ण खोप, ३५ र ४५ वर्ष उमेर समूहका ७० प्रतिशत महिलाको उच्चस्तरीय परीक्षणद्वारा जाँच र पहिचान भएका सर्वाइकल रोगका ९० प्रतिशत बिरामीलाई उपचार उपलब्ध गराउने लक्ष्य रहेको बताए।
मन्त्रीले निरन्तर प्रयास जारी रहे सिक्किम एचपीभी परीक्षणका क्षेत्रमा भारतकै उदाहरणीय राज्य बन्ने विश्वास व्यक्त गरे।

About Author

Advertisement