नाम्ची: नाम्चीस्थित श्री कृष्ण प्रणामी मंगलधामको परिसरबाट बिहीबार भव्य शोभायात्रा आयोजना गरिएसँगै हप्ताव्यापी ‘अन्तर्राष्ट्रिय जगनी महामहोत्सव’ को औपचारिक शुभारम्भ भएको छ। आइतबारदेखि मुख्य प्रवचन सुरु हुने यस महोत्सवको पूर्वसन्ध्यामा निकालिएको शोभायात्राले नाम्ची, दलेप र तिमी बजारको परिक्रमा गरेको थियो।
शोभायात्राको नेतृत्व महन्त श्री १०८ सुदाकर महाराजजी र माताजी विदुषी उषा घिमिरेले गर्नुभएको थियो। यात्रामा सिक्किम राज्यका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक र क्षेत्रका भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष अञ्जिता राजालिम, चियरमेन एनटी भोटिया, पूर्व विधायक जीएम गुरुङ र ओएसडी प्रदीन तामाङ लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
आगामी महोत्सवमा गुजरातको जामनगरस्थित नवतनपुरीधामका आध्यात्मिक गुरु श्री कृष्णमणिजी महाराजश्री प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ। आइतबार (१९ अप्रिल) हुने आध्यात्मिक कार्यक्रमको औपचारिक उद्घाटन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्।
विश्वभरका प्रणामी धर्मावलम्बी र आध्यात्मिक गुरुहरूको सहभागिता रहने यस महामहोत्सवले आध्यात्मिक प्रवचन, सांस्कृतिक आदानप्रदान र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। आगामी एक सातासम्म मंगलधाममा विभिन्न धार्मिक अनुष्ठान र भजनकीर्तन सञ्चालन हुनेछन्।










